पोखरा ।
देशभर डेंगी संक्रमणको जोखिम बढेको छ ।
वर्षायाम शुरू भएसँगै देशभर डेंगीको संक्रमण देखिन थालेको हो ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार रसुवा, मनाङ, हुम्ला, डोल्पाबाहेक बाँकी ७३ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ ।
६ महिनायता १ हजार ४ सयभन्दा धेरैमा डेंगी संक्रमण भएको छ । सबैभन्दा बढी बागमतीमा ३ सय ७१ जनामा र सबैभन्दा कम मधेशमा २१ जनामा संक्रमण पुष्टी भएको महाशाखाले जनाएको छ ।
त्यस्तै कोशीमा २ सय ९९, गण्डकीमा २ सय ५१ जना, लुम्बिनीमा २ सय ४५ जना, सुदूरपश्चिममा १ सय ८४ जना, कर्णालीमा ३२ जना संक्रमण पुष्टि भएको छ ।
डेंगी संक्रमणका मुख्य लक्षण भनेकाृ उच्च ज्वरो आउने, टाउको, घाँटी, आँखा दुख्ने, हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने हुन् ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिज एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेंगी रोग लाग्छ ।
एडिज लामखुट्टे विशेषतः बिहान र बेलुकी घाम अस्ताउनुभन्दा अगाडि बढी सक्रिय हुने र त्यसैबेला संक्रमण बढी सार्छ ।
यो जातको लामखुट्टेले सफा जमेको थोरै पानीमा फुल पार्ने भएकाले पानी जन्म नदिन र सरसफाइमा विशेष ध्यान दिनुपर्ने डाक्टरहरु बताउँछन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै पालिकालाई ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाउन पत्राचार गरिसकेको छ ।
प्रकाशित मिति २०८२ असार ९ गते सोमबार ०९:२२




