लमजुङ ।
राइनास नगरपालिकाको नव निर्मित सुविधा सम्पन्न प्रशासकीय भवन सोमबार एक समारोहबीच औपचारिक रूपमा उद्घाटन गरिएको छ ।
नगर प्रमुख खड्ग बहादुर गुरुङले भवनको उद्घाटन गरेका हुन् ।
चार तलाको आधुनिक भवन निर्माण सम्पन्न गर्न ४ करोड २३ लाख रुपैयाँ लागत लागेको प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलले जानकारी दिए।
भवन निर्माणको ठेक्का २०७८ सालभित्र सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भए पनि विभिन्न कारणले गर्दा भवन २०८१ सालको जेठमा मात्र निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको थियो।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख गुरुङले संघीयता कार्यान्वयनसँगै गाउँ–गाउँमा जनमुखी सेवा प्रवाहको आधार बन्ने गरी प्रशासकीय भवन निर्माण भइरहेका बेला राइनास नगरपालिकामा पनि यस खालको भवन निर्माणले स्थानीय जनताको सेवा प्रवाहमा सहजता आउने बताए। पूर्व नगरप्रमुख देखि सिङ्गो कार्यपालिका र स्थानीय सरोकारवालाहरूको योगदानले भवन निर्माण सम्भव भएको नगर प्रमुख गुरुङको भनाई थियो ।
कार्यक्रममा पूर्व नगरप्रमुख सिंह बहादुर थापाले आफ्नो नेतृत्वको टिम निर्वाचित भएर आउँदा सामान्य भवनबाट काम सुरु गरिएको स्मरण गर्दै, नयाँ भवन निर्माण सुरू गर्नु आफ्नो कार्यकालको एउटा ऐतिहासिक निर्णय भएको बताए।
कार्यक्रममा नगर प्रवक्ता गोविन्द चिलुवाल, नेपाली कांग्रेस नगर सभापति श्रीकृष्ण पौडेल, नेकपा एमाले जिल्ला सदस्य जीवन सिर्मल, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष प्रमोद दवाडी, राप्रपा नगर अध्यक्ष शिवप्रसाद पोख्रेल, नेकपा एस नगर अध्यक्ष मातृका खनाल, प्रथम प्रशासकीय अधिकृत नुरराज कडरिया, प्रधानाध्यापक प्रतिनिधि दिनानाथ त्रिपाठी, र जग्गादाता सूर्यप्रसाद भट्टलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
भवन निर्माणका लागि जग्गा प्रदान गर्ने टंकबहादुर कुमाल, रविन्द्र कुमाल, कमलीकान्त भट्ट, सूर्यप्रसाद भट्ट, भुन्टीमाया कुमाल, ज्ञानुमाया भट्ट, मेखराज भट्टलाई कार्यक्रममै सम्मान गरिएको थियो। साथै पूर्व नगरप्रमुख सिंहबहादुर थापा, निर्माण व्यवसायी शक्ति श्रेष्ठ, पूर्व वडा अध्यक्षहरू तथा भवन निर्माणमा सहयोग पु–याउने चन्दादाताहरुलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रम राइनास नगर उपप्रमुख पुष्पराज खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रकाशित मिति २०८२ असार ९ गते सोमबार ०८:०४




