२०८३ कात्तिक १० गते सोमबार

सबैको सहयोग भए समयमै विद्यालय शिक्षा ऐन जारी हुन्छः शिक्षामन्त्री पन्त

सबैको सहयोग भए समयमै विद्यालय शिक्षा ऐन जारी हुन्छः शिक्षामन्त्री पन्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १० गते मंगलबार ०९:४६

उनले सरकार र शिक्षक महासंघसँग भएका सम्झौता बमोजिम पछिल्लो सम्झौतामा तोकिएको मितिभित्र विद्यालय शिक्षा ऐन ल्याउन सरकार तयार रहेको बताए । विभिन्न सरकारका पालामा शिक्षकका संघ संगठनसँग भएका सम्झौता बमोजिम ऐन ल्याउने विषयमा सबैको एकमत रहेको उनले जानकारी दिए ।

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सबैको सहयोग भए समयमै विद्यालय ऐन जारी हुने बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको विनियोजित शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले सरकार र शिक्षक महासंघसँग भएका सम्झौता बमोजिम पछिल्लो सम्झौतामा तोकिएको मितिभित्र विद्यालय शिक्षा ऐन ल्याउन सरकार तयार रहेको बताए ।

विभिन्न सरकारका पालामा शिक्षकका संघ संगठनसँग भएका सम्झौता बमोजिम ऐन ल्याउने विषयमा सबैको एकमत रहेको उनले जानकारी दिए ।

उपसमितिले दिएको प्रतिवेदन र विभिन्न समयमा भएका सम्झौताका विषयहरु समेट्ने गरी मन्त्रालयले धारणा निर्माण गरेर समितिमा छलफल गरिरहेको उनले उल्लेख गरे ।

उनले भने, ‘शिक्षकहरुसँगको छलफलका क्रममा अधिकांश माननीयज्युहरुले विभिन्न समयमा नेपाल सरकार र शिक्षक महासंघसँग भएका सम्झौता बमोजिम पछिल्लो सम्झौतामा तोकिएको मितिभित्र विद्यालय शिक्षा ऐन ल्याउन सुझाउनुभएको छ । विभिन्न सरकारका पालामा शिक्षकका संघ संगठनसँग भएका सम्झौता बमोजिम ऐन ल्याउने विषयमा सबैको एकमत नै छ । उपसमितिले दिएको प्रतिवेदन र विभिन्न समयमा भएका सम्झौताका विषयहरु समेट्ने गरी मन्त्रालयले धारणा निर्माण गरेर समितिमा छलफल गरिरहेको छ । ऐन जारी हुनुपर्छ भन्ने विषय राख्ने माननीयज्युहरु र उहाँहरुकै पार्टीका माननीयज्युहरु समितिमा रहनुभएकाले विद्यालय शिक्षा ऐन जारी गर्ने विषयमा सरकारले समन्वय गरिरहेको छ । यहाँहरु सबैको सहयोग भएमा समयमै ऐन जारी गर्न सकिन्छ । शिक्षकहरुको पछिल्लो आन्दोलनका क्रममा भएका ९ बुँदे सम्झौताबमोजिम प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र लेखा हेर्ने कर्मचारीको तलवमा संघीय सरकारले व्यहोर्ने दायित्व रकम वृद्धि गरिएको कुरा मैले अघि नै उल्लेख गरिसकेको छु ।’

मन्त्री पन्तले तोकिएको मितिभित्रै शिक्षासम्बन्धी विधेयक संसदमा प्रवेश गराउने दाबी गर्दै आफू समितिमा जुनसुकै बेलामा उपस्थित हुन तयार रहेको बताए ।

 

प्रकाशित मिति २०८२ असार १० गते मंगलबार ०९:४६
हजुरको प्रतिक्रिया