गोरखा ।
२२औँ राष्ट्रिय धान दिवसका अवसरमा पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित वेलवास टारमा रहेको आफ्नै पुख्र्यौली खेतमा रोपाइँ गर्दै विशेष सन्देश दिएका छन् ।
धान दिवसको अवसर पारेर आयोजित कार्यक्रममा उनी हाते ट्याक्टर चलाउँदै, बाउसे गर्दै र धानको बिउ रोप्दै सहभागी भए ।
उनले निगालोको छत्री ओढेर कोदालीले जमिन खनेर परम्परागत र आधुनिक कृषिको संयोजन देखाएका थिए ।
कार्यक्रम कृषि ज्ञान केन्द्र गोरखाको व्यवस्थापन तथा मण्डली महिला किसान क्लबको आयोजनामा भएको थियो। कार्यक्रममा बोल्दै डा. भट्टराईले कृषिमा नयाँ सोच र प्रविधिको आवश्यकतामाथि जोड दिए। “कृषिको आधुनिकीकरण र व्यवसायीकरण बिना देशको समृद्धि सम्भव छैन,” उनले भने, “६० प्रतिशत जनसंख्या कृषिमा संलग्न छन्, तर उत्पादन र रोजगारी दुवै न्यून छ। आधुनिक खेतीमार्फत युवा पुस्तालाई आकर्षित गर्न सके कृषिमा क्रान्ति सम्भव छ।”
उनले परम्परागत खेतीको सीमा औँल्याउँदै आधुनिक उपकरण र प्रविधिको प्रयोगमार्फत उत्पादकत्व वृद्धि गर्नुपर्ने तर्क गरे। “आजको आवश्यकता कृषि पेशालाई नोकरीको विकल्प बनाउने हो,” उनले थपे, “यसका लागि नीतिगत परिवर्तन र युवालाई तालिम आवश्यक छ।” उनको सक्रिय सहभागिताले स्थानीय किसान, विशेषतः महिलाहरूमा उत्साह र जागरण ल्याएको आयोजकहरूको भनाइ छ ।
प्रकाशित मिति २०८२ असार १५ गते आइतबार ०८:००




