पोखरा ।
गण्डकी प्रदेशमा मानव अधिकार रक्षकहरूको क्षमता अभिवृद्धि र अधिकारको प्रवद्र्धनका लागि प्रदेशस्तरीय सम्मेलन गरिएको छ ।
सम्मेलन इन्सेक गण्डकी प्रदेश कार्यालय, गण्डकी प्रदेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र युरोपियन युनियनको सहकार्यमा आयोजना गरिएको हो । सम्मेलनमा प्रदेश सभाकी उपसभामुख विनाकुमारी थापाले इन्सेकले मानव अधिकारको क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरिन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कानुन महाशाखाका सचिव रामजी दनाईले मानव अधिकार रक्षकहरूप्रति भइरहेको दण्डहीनताको अन्त्य आवश्यक रहेको बताए ।
नागरिक समाजको तर्फबाट शान्तिका लागि नागरिक समाज सञ्जाल संयोजक बिना शिल्वालले पीडितका पक्षमा राज्य जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याइन् । पत्रकार रमेश पौडेलले मानव अधिकारको सवालमा समाजका हरेक व्यक्तिले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । इन्सेक केन्द्रीय कार्यालयका सूचना अधिकारी कृष्ण गौतमले पत्रकारहरू आवाजविहीनहरूको आवाज बनेका कारण जोखिममा पर्ने गरेको भन्दै पत्रकारहरूको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी डिआइजी कार्यालयकी दिनेशकुमारी आचार्य, गैर सहकारी महासंघ गण्डकी अध्यक्ष गोपाल खड्का, प्रदेश नीति तथा योजना आयोगकी सदस्य दुर्गा लामिछाने, इन्सेक गण्डकी प्रमुख शिव खकुरेललगायतका वक्ताहरूले मानव अधिकार संरक्षण, राज्य र नागरिक समाजबीचको सहकार्य र रक्षकहरूको भूमिकाबारे आ–आफ्नो धारणा राखेका थिए ।
सहभागीहरूले प्रदेशमा बनाइएका कानुनहरूलाई प्रभावकारी कार्यान्वयन गर्दै मानव अधिकार रक्षकहरूको सुरक्षामा जोड दिए ।
प्रकाशित मिति २०८२ असार १५ गते आइतबार ०८:०६




