श्रीलंका ८–० गोलले पराजित, अब नेपालले शनिबार उज्वेकिस्तानसँग खेल्ने
पोखरा ।
एएफसी महिला एशियन कप छनोटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।
उज्वेकिस्तानको तास्केन्दको मिली रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ८–० को फराकिलो गोलअन्तरको जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।
कप्तान सावित्रा भण्डारी (साम्बा) को ह्याट्रिकमा नेपालले श्रीलंकालाई पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।
यस्तै नेपालको जितका लागि गीता रानाले २ तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले १÷१ गोल गरे । खेलको सातौँ मिनेटमा नेपालले पहिलो अग्रता लियो । अनिता बस्नेतको कर्नरमा गीताले गोल गरिन् ।
त्यसपछि खेलको २०औँ मिनेटमा नेपालले अग्रता दोब्बर बनायो । नेपालका लागि साम्बाले गोल गरिन् ।
खेलको ४२औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन् । खेलको पहिलो हाफको अतिरिक्त समयमा साम्बाले एक गोल थप्दै ह्याट्रिक पूरा गरिन् ।
त्यस्तै खेलको ५३औँ मिनेटमा श्रीलंकाकी सचिना डि सिल्भाले नेपालकी रश्मीकुमारी घिसिङलाई लडाएपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर दिएको थियो । जसमा गीताले पेनाल्टीमा गोल गरिन् ।
खेलको ६२औँ मिनेटमा निशाले हेड गोल गरिन् । खेलको ७८औँ मिनेटमा सब्स्टिच्युट खेलाडी पूजा रानाको क्रसमा अर्की सब्स्टिच्युट फर्वाड रेखाले गोल गरिन् ।
त्यसपछि खेलको ८९औँ मिनेटमा पूजाले एक गोल थपेसँगै नेपालले श्रीलंकामाथि ८–० गोलको जित हासिल ग¥यो ।
यो जीतसँगै नेपाल २ खेलमा ६ अंकसहित समूह ’एफ’ को शीर्ष स्थानमा उक्लिएको छ । यसअघि भएको पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले हराएको थियो ।
अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार आयोजक उज्वेकिस्तानसँग खेल्नेछ ।
महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ ।
हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् ।
प्रकाशित मिति २०८२ असार १९ गते बिहीबार ०८:५९




