बागलुङ ।
बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको आपूर्तिमा कमी हुन नदिने बताएको छ ।
संस्थाका कावा अध्यक्ष हरिबहादुर जिसीले पुराना पानीका मुहानलाई निरन्तरता दिंदै नयाँ आयोजनालाई पनि उपभोक्ताको हितमा उपयोग गरेको दाबी गरे । हाल निर्माणाधीन बागलुङ नगर सहलगानी खानेपानी आयोजना औपचारिक रुपमा पूरा नभए पनि नागरिकको आवश्यकतालाई ध्यानमा राखेर निरन्तर पानी खाने व्यवस्थापन गराएको जिसीले दाबी गरेका हुन् ।
उक्त आयोजनाको म्याद सकिएको ५ वर्ष काटिसकेको छ । तोकेको समयमा काम सकिँदो हो भने २०७७ सालमै बागलुङ बजारबासीले काठेखोलाको लिफ्ट योजनाबाट पानी खान पाउँथे । ‘कन्काइ जयमाता संयुक्त निर्माण कम्पनी’ले ठेक्का समय सकिएको ५ वर्षमा पनि आयोजना पुरा भने नगरेको हो । पत्रकार सम्मेलनमा आयोजनाको ९६ प्रतिशत काम सकिएको दाबी गरिएको छ ।
खानेपानी तथा ढल निकास विभागले कन्सल्ट्यान्टमार्फत् यो आयोजनाको डिजाइन बनाएपछि २०७५ सालमा दुइ वर्षभित्र काम सक्ने गरी ‘कन्काइ जयमाता संयुक्त निर्माण कम्पनी’ले ३० करोड २६ लाखमा ‘बागलुङ नगर सहलगानी खानेपानी आयोजना’ निर्माण थालेको थियो ।
तोकेको समयमा काम नसकेपछि लागत बढेर अहिले ३४ करोड ६५ लाख लागत मूल्य पु¥याइसकेको छ । अझै ठेकेदारले योजना हस्तान्तरण गर्ने सुरसार गरेको छैन । यो आयोजनाका लागि अहिलेसम्म काठेखोलामा ५ वटा समवेल (पानी थिग्राउने ट्यांकी) बनाइएको छ । ५ लाख लिटरको एउटा र २ लाखका २ वटा आरबिटी ट्यांकी बनाइएको छ ।
दुइवटा स्लोसेन्ट ट्यांकी पनि बनेको छ । काठेखोलादेखि रात्माटाहुँदै भीरलाँकुरीसम्म लैजाने पाइपलाइनका लागि ‘डीआइ’ पाइप डिजाइन भएको छ । उक्त पाइप जडान गर्न नपाउँदै फुट्न थालेको हो । प्रतिसेकेण्ड ७० लिटर पानी लिफ्ट गर्ने योजना भएपनि अहिलेसम्म सबै पानी लिफ्ट नभएको हो । तत्काल पाइपलाइन नफेरेसम्म आयोजना सफल नहुने अवस्था आएपछि संस्था डेढ करोड करोड नोक्सानीमा परेको छ ।
नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा यो आयोजना निर्माणाधीन छ । ३० प्रतिशत लगानीको २५ प्रतिशत नगर विकास कोषको ऋण सहयोग समेत जुटाइएको छ ।
प्रकाशित मिति २०८२ असार २४ गते मंगलबार ०७:२९




