शव सनाखतमा सहयोग गर्न प्रहरीको अपिल
गोरखा ।
भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका गोरखा पालुङटार नगरपालिका–६ का दिलबहादुर तामाङ र धनबहादुर विश्वकर्माको शव सनाखतमा समस्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उनीहरुका आफन्त हालसम्म पनि सम्पर्कमा नआएकाले सनाखतमा समस्या आएको हो ।
गत असार २४ गते तिब्बतबाट नेपालतर्फ सामान बोकेर ल्याउँदै गरेका कन्टेनरसहित ११ जना बाढीमा बेपत्ता भएका थिए ।
तीमध्ये तामाङ र विश्वकर्मा रसुवागढी भन्सार कार्यालय टिमुरेमा कन्टेनर चालकको रूपमा कार्यरत थिए ।
प्रहरीका अनुसार बाढीपछिको खोजतलासका क्रममा फेला परेका शवहरू घटनास्थलको परीक्षण र कानुनी प्रक्रिया पूरा गरी रसुवा जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।
तर ती शवहरू अहिलेसम्म सनाखत हुन नसकेकाले प्रहरीलाई पहिचानमा कठिनाइ भएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीका अनुसार शवका आफन्त वा नातागोता अहिलेसम्म सम्पर्कमा नआएकाले पुष्टि गर्न नसकिएको हो ।
उनले भने, ‘गोरखाबाट पनि कोही सम्पर्कमा आएका छैनन् । शवको पहिचान नहुँदा अन्तिम प्रक्रिया अघि बढाउन गाह्रो भएको छ ।’
प्रहरीले मृतकको सम्भावित स्थायी वासस्थान गोरखा मात्र नभई अन्य ठाउँमा पनि हुन सक्ने भन्दै पत्रकार, जनसमुदाय, राजनीतिक दल, स्थानीय निकाय तथा सरोकारवाला संघसंस्थालाई शव सनाखतमा सहयोग गर्न प्रेस विज्ञप्तिमार्फत अपिल गरेको छ ।
यदि कसैलाई मृतकसँग सम्बन्धित जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय रसुवामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।





