नेकपा एकिकृत समाजवादी र लाेकतान्त्रिक समाजवादी पार्टीको सनाखत सकियाे
काठमाडाैं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद र केन्द्रीय सदस्यले पार्टी दर्ताका लागि सनाखत गरेका छन् ।
माधव नेपाल नेतृत्वको पक्षमा नेकपा (एकीकृत समाजवादी) बाट २९ जना सांसद र ५४ जना केन्द्रीय सदस्यले सनाखत गरेका छन् । नयाँ पार्टी दर्ताका लागि नेता झलनाथ खनालले भारतको नयाँदिल्लीबाटै सनाखत गरेका छन्।
यस्तै जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ पार्टी दर्ता गर्न संघीय संसदका १४ जना सांसदले निर्वाचन आयोगमा सनाखत गरेका छन् ।महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि बुधबार आयोगमा प्रतिनिधि र राष्ट्रिय सभाका १४ सांसदले सनाखत गरेको नेता केशव झाले जानकारी दिए।
जसपाका प्रतिनिधि सभामा ३४ र राष्ट्रिय सभामा तीन जना सांसद छन्। तीमध्ये दुई जना निलम्बनमा परेका छन्।

निर्वाचन आयाेगमा सनाखतपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लोसपाका वरिष्ठ नेता राजेन्द्र महताे
निलम्बनमा परेका सांसद रेशम चौधरीले डिल्लीबजार कारागारबाट मञ्जुरीनामा दिएको झाले बताए। चौधरीसहित प्रतिनिधि सभाका १४ र राष्ट्रिय सभाका एक जना सांसदले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेको झाले जानकारी दिए।
सनाखत गरेसँगै नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र ठाकुर नेतृत्वको लोसपा दर्ता हुने भएको छ।
केही समयअघि जारी भएको अध्यादेशअनुसार कुनै दल विभाजन हुन केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत बहुमत पुग्ने व्यवस्था छ।
निर्वाचन आयोगले बुधबार दिएको समयसीमाभित्र उनीहरुले आफ्नो हस्तक्षर सनाखत गराएका हुन् ।
प्रकाशित मिति २०७८ भदौ ९ गते बुधबार ०३:०७




