२०८३ साउन २१ गते बिहीबार

गोरखा नगरपालिका–१३ मा ३३ वर्षपछि पहिलो पटक सडक कालोपत्र

गोरखा नगरपालिका–१३ मा ३३ वर्षपछि पहिलो पटक सडक कालोपत्र

विराज त्रिपाठी

@Public 4K Tv

२०८२ साउन ४ गते शनिबार ०४:५५

गोरखा । गोरखा जिल्लाको विकट पहाडी क्षेत्र साविक देउराली गाउँ विकास समिति, हालको गोरखा नगरपालिका–१३ अन्तर्गत पर्ने मझुवा–बैटारी–हटीयाँ सडक ३३ वर्षपछि कालोपत्र भएको छ। दशकौं लामो प्रतीक्षापछि सडकमा पहिलो पटक कालोपत्र हुँदा...

गोरखा ।

गोरखा जिल्लाको विकट पहाडी क्षेत्र साविक देउराली गाउँ विकास समिति, हालको गोरखा नगरपालिका–१३ अन्तर्गत पर्ने मझुवा–बैटारी–हटीयाँ सडक ३३ वर्षपछि कालोपत्र भएको छ।

दशकौं लामो प्रतीक्षापछि सडकमा पहिलो पटक कालोपत्र हुँदा स्थानीयवासीको अनुहारमा आशा र खुसीको झल्को देखिएको छ।

बि।सं। २०४९ मा स्थानीय अगुवा मेघ बिलाष शर्मा खनालको पहलमा कच्ची ट्रयाक खोलिए पनि त्यो ट्रयाक ३३ वर्षसम्म धुलो र हिलोमै सीमित रह्यो।

बर्सेनि चुनावी वाचा भए, योजना बने तर ठोस काम भने भएन।

यसै क्रममा नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य कमला पन्तको पहलमा सांसद विकास कोषमार्फत आएको १ करोड रुपैयाँको बजेटले यो सडकको भाग्य चम्काएको हो।

सडक निर्माणको इतिहास सुनाउँदा स्थानीयवासीहरु निकै भावुक हुन्छन्।

दशकौंअघि गोरखा–आँबुखैरेनी सडक अस्तित्वमा नरहँदा देउराली क्षेत्रका बासिन्दाहरू मझुवा, बैटारी, हटियाँ हुँदै पैदल यात्रा गरेर तनहुँको आँबुखैरेनी झर्थे।

त्यहाँबाट गोरखाबजार, पालुङटारतिर जाने छोटो र सहज बाटो यही थियो। त्यही भएर यो बाटो उनीहरूका लागि जीवनरेखा जस्तै थियो।

वडाध्यक्ष मित्रा परियार भन्छिन्, “कच्ची ट्रयाक त खोलियो, तर सडक स्तरोन्नति कहिले होला भन्ने आशमै दशके बित्यो। अहिले गाउँमा कालोपत्र भएको छ, जुन मेरो निर्वाचन प्रतिबद्धता पनि थियो। पिच देख्दा आफैलाई पनि सपना पुरा भएको जस्तो लागिरहेको छ।”

सडक कालोपत्रको काम साना सहर विकास कार्यालय, कास्कीको अन्तर्गतमा परेको हो। निर्माणको जिम्मा चिराग कन्स्ट्रक्सनले लिएको थियो।

योजानाका लागि ९६ लाख ४३ हजार ६२४ रुपैयाँ ५० पैसाको अनुमानित बजेट भए पनि ठेकेदार कम्पनीले ६६ लाख ३५ हजार ९३९ रुपैयाँ ५ पैसामा ठेक्का पाएको हो।

निर्माण अन्तर्गत ४०० मिटर कालोपत्र, ७५ मिटर ढलान र ५०० मिटरभन्दा बढी नालाको निर्माण गरिएको छ।

जलदेवी बनदेवी टोल बिकास संस्थाकाअध्यक्ष बिक्रम मल्ल भन्छन्, “हाम्रा बारीका तरकारी, गाई–बाख्राका मासु उत्पादन अब सजिलै बजारमा पुर्‍याउन सकिन्छ।

पहिले हिलोले भरिएको बाटोमा ढुवानी गर्न सकिँदैनथ्यो, अब गाउँमै आर्थिक चहलपहल बढ्नेछ।”

यो सडक पिच भएपछि गोरखा नगारपालिका वडा नं।– १३ अन्तर्गतका फेदीटोल, दराई गाउँ, जैकोट, सातदोबाटे, बैटारी, युखर्क, पसैथोक, सुनारगाउँ, तल्लो हटिया, मनमस्ता, दमाई गाउँ, कामीगाउँ, सिमलथुम्की, ढकाल गाउँ, बेलघारी, ठिमुरे जस्ता बस्तीमा आवतजावत गर्न सहज भएको छ। साथै वडा नं।– १४ का उपल्लो हटिया, कोट गाउँ, छाँकु, प्यूघरका बासिन्दाले पनि सोही सडक प्रयोग गर्ने भएकाले उनीहरूका लागि पनि सुविधाजनक भएको छ।

स्थानीयबासीहरूको भनाइमा अहिलेको पिचले बालबालिकाको स्कुल आवतजावत देखि लिएर बिरामीलाई अस्पताल पु¥याउनसम्म सजिलो बनाएको छ।

व्यापार व्यवसायका लागि ढुवानी सहज भएकाले उत्पादन वृद्धिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

अब गाडी गाउँभित्र पुग्ने भएपछि केही टोलमा यातायात सेवा विस्तारको योजना बनाइँदैछ।

गाउँको आर्थिक–सामाजिक रुपान्तरणमा यो सडकले ऐतिहासिक मोड ल्याउने विश्वास स्थानीयहरू राख्छन्।

३३ वर्षपछि पिच भएको मझुवा–बैटारी–हटीयाँ सडक अब केवल यात्रा गर्ने बाटो मात्र रहेन, यो बाटोले गाउँमा विकास, सम्भावना र समृद्धिको ढोका खोलेको छ। पहाडको कठोर भूगोलमा बसेका जनताको संघर्षले आज यो सफलता चाख्न पाएको हो।

 

प्रकाशित मिति २०८२ साउन ४ गते शनिबार ०४:५५
हजुरको प्रतिक्रिया