पोखरा ।
पर्वतको मोदी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जना बेपत्ता भएका छन् ।
भारी वर्षासँगै आएको पहिरोले जिल्लाको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा एक घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ बर्सिया विष्णुमती बिक बेपत्ता भएका हुन् ।
माथिबाट आएको पहिरोले घर पुरिएको र उनीहरूकी बुहारी ३२ बर्सिया पवित्रा बिकले भने भागेर ज्यान बचाएकी छिन् ।
निरन्तरको वर्षा र पहिरोले सडक अवरुद्ध हुँदा प्रहरी घटनास्थलमा पुग्न सकेको छैन भने स्थानीयले उद्धार कार्य जारी राखेका छन् । अहिले बेपत्ता दम्पतीको खोजी कार्य भइरहेको वडा सदस्य सन्तोष बिकले बताए ।
प्रारम्भिक रूपमा आएको सूचनामा घरमा दुई जना रहेको बताइएको छ भने उनीहरू भागेका थिए वा घरभित्र नै परे भन्ने कुराको यकिन जानकारी नआएको जिल्ला प्रहरी कार्यालय पर्वतकले जनाएको छ ।
घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने प्रहरीले बताएको छ ।
सहजै सवारी चलेको अवस्थामा पनि मोदी गाउँपालिकाको केन्द्र पातिचौरबाट एक÷डेढ घण्टाको समय लाग्ने सडक खण्ड अवरुद्ध बनेको छ ।
शनिबार रातीदेखि पर्वत लगायत आसपासका क्षेत्रमा भारी तथा अति भारी वर्षा भइरहेको छ । यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ ।
प्रकाशित मिति २०८२ साउन ५ गते आइतबार ०८:४८




