व्यवसायी भन्छन्ः बिपदमा साथ पाए फेरि उठ्न सकिन्थ्यो’
पोखरा ।
पोखरा महानगरपालिका–१६, तुम्केमा अविरल वर्षापछि आएको डुबानले एक व्यावसायिक कुखुरा फर्ममा क्षति पुर्याएको छ ।
गएराति डुबानमा परी स्थानीय व्यवसायी विनोद आचार्यको फर्ममा रहेका झन्डै दुई सयभन्दा बढी कुखुराको मृत्यु भएको हो ।
अन्य कुखुरामा समेत स्वास्थ्य समस्या देखिएको व्यवसायी आचार्यले बताए ।
डुबानले कुखुराको खोरमा पानी पसेर सास फेर्न नपाउँदा कुखुराको मृत्यु भएको आचार्यको भनाइ छ ।
डुबानबाट करिब २ लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको आचार्यले बताए ।
‘मैले ७ वर्षदेखि यस व्यवसायमा श्रम गरेर राम्रो स्थापित बनाएको थिएँ ।
तर एकै रातको पानीले सबै खेर गयो,’ उनले भने, ‘स्थानीय सरकारबाट सानो सहयोग भए पनि फेरि उठ्ने हिम्मत आउँथ्यो ।’
पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले महानगरपालिकाको कृषि शाखासँग समन्वय गरेर राहतको व्यवस्था गर्न सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
उनका अनुसार वडाभित्रको अर्को ठाउँमा समेत झन्डै ८ सय कुखुरामा डुबानले असर परेको छ ।
तिमिल्सिनाले वडाले सधैं बिपद्को बेलामा साथ दिँदै आएको उल्लेख गरे ।
उनले सम्बन्धित निकायहरूसँग समन्वय गरेर आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
प्रकाशित मिति २०८२ साउन ५ गते आइतबार ०२:१४




