बागलुङ ।
बागलुङमा बोलिने ‘मगर खाम भाषा’ संकटमा पर्ने जोखिम बढेको छ ।
बढ्दो सहरीकरण र विदेश पलायनका कारण भाषा संकटमा पर्दै गएको हो । आठार मगरात अन्तरगत निसीखोला गाउँपालिका– ५ र ६ मा बोलिने यो भाषा पछिल्लो समय कम प्रयोग हुन थालेको छ । युवा विदेश र बालबालिका सहर बजार झर्न थाल्दा ‘मगर खाम भाषा’ कम बोल्न थालिएको हो ।
पछिल्लो समय गाउँमा बुढापामा पुस्ता मात्रै बस्ने र उनीहरुले मात्रै यो भाषा बोल्ने गरेका छन् । भाषासँगै पश्चिममा संस्कृतिको प्रभावले मौलिक कला र संस्कृति पनि लोप हुन थालेको बुढापाका बताउँछन् । यसलाई संरक्षण गर्नु पर्ने दायित्व स्थानीय सरकारको भएको उनीहरुको भनाइ छ । मगर खाम भाषा मगर समुदायले मात्रै नभई निसीखोलामा दलित समुदायका स्थानीयले पनि बोल्ने गर्दछन् ।
पहिले–पहिले लेकबेसी र घाँसदाउरा गर्दा मगर खाम भाषामै गीत गुनगुनाउने गरे पनि अचेल नयाँ पुस्तालाई कुराकानीमा पनि समस्या हुने गर्दछ । मगर खाम भाषा आफ्नो मगरहरुको पहिचान भएको उनीहरु बताउँछन् ।
एक दशक अगाडिसम्म गाउँका सबैले मगर खाम भाषामा कुराकानी गरे पनि अहिले निकै कम भएको हो । निसीखोला गाउँपालिकाकाले मगर खाम भाषा संरक्षणका लागि विद्यालय स्तरबाटै पठनपाठन गर्न थालेको छ ।
गाउँपालिकाले नयाँ पुस्तालाई खाम भाषा बोल्नका लागि प्ररित गर्न समुदायबाटै लाग्नु पर्ने देखिन्छ । दशक अगाडिसम्म ढोरपाटन नगरपालिकाको ७, ८ र ९ नम्बर वडामा पनि खाम भाषा बोल्ने गरे पनि अहिले त्यहाँ यो भाषा बोलिदैन । विस्तारै निसीखोलामा पनि त्यो स्थिती आउन सक्ने भन्दै बुढापाकाले चिन्ता व्यक्त गरेका छन् ।
प्रकाशित मिति २०८२ साउन ६ गते सोमबार ०८:०५




