किशोरावस्थादेखि २६ वर्षसम्मको उमेरमा हुने आत्महत्या डरलाग्दो
पोखरा । कास्कीमा आत्महत्याको दर बढेको तथ्यांकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कास्की जिल्लामा १५७ जनाले आत्महत्या गरेका छन् । यो संख्याको झण्डै आधा मानिसले झुन्डिएर आत्महत्या गरेको तथ्याङ्क छ । यो आर्थिक वर्षमा ७७ जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेहरुमध्ये ५८ प्रतिशत मानिसहरु साधारण लेखपढ मात्रै गर्न जान्ने छन् । आर्थिक वर्ष २०७७/७८ मा १५७ जनाले आत्महत्या गर्दा आत्महत्या गर्ने ९० जना मानिसहरु साधारण लेखपढ मात्रै गर्न जान्ने रहेका छन् ।
कास्कीमा किशोरावस्थादेखि २६ वर्षसम्मको उमेरमा हुने आत्महत्या डरलाग्दो देखिएको छ । कास्कीमा १८ वर्षदेखि २५ वर्ष उमेर समूहका मानिसहरुमा आत्महत्याको दर बढी रहेको देखिन्छ । प्रहरीले ५ वटा उमेर समूहमा राखेर आत्महत्याको विश्लेषण गर्दा १८ देखि २५ वर्ष उमेर समूहका युवायुवतीमा आत्महत्याको दर बढेको देखिन्छ ।
त्यसैगरी कास्की जिल्लामा भएको आत्महत्याको घटनालाई वैवाहिक स्थितिको अवस्थाका आधारमा विश्लेषण गर्दा अविवाहितले नै बढी आत्महत्या गरेको पाइएको छ । आर्थिक वर्ष २०७७/७८ मा कास्की जिल्लामा कुल १५७ जनाले आत्महत्या गरेको घटनामा ८९ जना अविवाहित रहेको पाइएको छ ।
प्रकाशित मिति २०७८ भदौ ११ गते शुक्रबार ०१:३१




