पोखरा ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको राष्ट्रिय कार्यसमिति सदस्य पदमा पोखराका भुवन तिमिल्सिनासहित तीन जना निर्वाचित भएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको राष्ट्रिय कार्यसमिति २०२५–२०२७ को लागि भएको निर्वाचनमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) बाट उनीहरु निर्वाचित भएका हुन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार, जनकराज पौडेलले ६,७३८ मत, भुवन तिमिल्सिनाले ६ हजार ७०४ मत तथा सुमन भट्टराईले ६ हजार ४३९ मत प्राप्त गरी राष्ट्रिय कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् ।
विजयी उम्मेदवारहरूमध्ये पौडेलले सर्वाधिक मत प्राप्त गरेका हुन् भने कास्कीको पोखराका भुवन तिमिल्सिना दोस्रो स्थानमा रहँदै विजयी भए ।
लामो समयदेखि अष्ट्रेलियाको नेपाली समुदायमा सक्रिय रहँदै आएका तिमिल्सिनाको विजयले पोखरेली समुदायमा खुसियाली छाएको छ । निर्वाचन परिणाम सार्वजनिक भएसँगै विजयी तीनै जनालाई विभिन्न सामाजिक सञ्जाल तथा नेपाली समुदायबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिने क्रम जारी छ ।
उनीहरूले आगामी दुई वर्षका लागि एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय कार्यसमितिमा रहेर एसिटीका नेपालीहरुको प्रतिनिधित्व गर्नेछन् ।
प्रकाशित मिति २०८२ साउन १२ गते आइतबार ०८:२५




