२०८३ साउन २१ गते बिहीबार

प्रदेश १ मा एमालेकाे संकट: भीम आचार्यकाे सरकार नबन्दै धरापमा

प्रदेश १ मा एमालेकाे संकट:  भीम आचार्यकाे सरकार नबन्दै धरापमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १२ गते शनिबार ०५:१३

प्रदेश १ मा नेकपा (एमाले) का १० सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने भएका छन् । विराटनगरमा शुक्रबार साँझ बैठक गरेर १० जनाले समाजवादीमा जाने सामूहिक निर्णय लिएको प्रदेश सांसद उपेन्द्र घिमिरेले जानकारी...

एमालेका १० सांसद समाजवादीमा जाँदै

प्रदेश १ मा नेकपा (एमाले) का १० सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने भएका छन् ।

विराटनगरमा शुक्रबार साँझ बैठक गरेर १० जनाले समाजवादीमा जाने सामूहिक निर्णय लिएको प्रदेश सांसद उपेन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार अहिले तटस्थ बसेर केही दिनभित्रै नयाँ दल नेकपा समाजवादी रोजेको जानकारी गराएर सनाखतका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी छ । मोरङबाट प्रदेशसभा सदस्यमा निर्वाचित घिमिरे विगतदेखि नै नेपाललाई साथ दिँदै आएका सांसद हुन् ।

आफूसहित भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङकी सावित्रा रेग्मी, कृष्णकुमारी राई, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, संखुवासभाकी पदमकुमारी गुरुङ, सरीता थापा र उदयपुरकी सुनीता चौधरीले एमालेमा नबस्ने निर्णय गरेको घिमिरेले बताए ।

सांसदको यो निर्णयसँगै गत बिहीबार मात्रै मुख्यमन्त्री बनेका एमाले सचिव एवं प्रदेश इन्चार्ज भीम आचार्य नेतृत्वको सरकार संकटमा परेको छ । दल विभाजन भएकाले आचार्यले मुख्यमन्त्री बनेको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । एमाले र समाजवादीबीच सांसद आफ्नो पक्षमा पार्ने कसरत चलिरहेका बेला १० सांसदले एमाले परित्यागको निर्णय लिएका हुन् । उनीहरुले नयाँ दल रोजेको खण्डमा आचार्यले विश्वासको मत पाउनसक्ने सम्भावना रहँदैन ।

एमाले छाड्ने सांसदको सामूहिक निर्णयसँगै नयाँ सरकारको मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै आचार्यको मुख्यमन्त्रीमा रहने समय अनिश्चित बनेको छ । उनले शुक्रबार मात्रै तेह्रथुमका लछुमन तिवारी र ताप्लेजुङका बलबहादुर साम्सोहाङ्लाई मन्त्री नियुक्त गरेका छन् । प्रदेशमा एमालेका सभामुखसहित ५१ सांसद छन् । फौजदारी कसूरमा अदालतले कैद सजायको फैसला गरेसँगै सांसद गुलेफुन खातुन फरार छिन् ।

सरकार टिकाउन धेरै सांसदलाई एमालेमै राख्ने प्रयत्न आचार्यले गरिरहेको स्रोतले बतायो । विश्वासको मत लिएर सरकार सुरक्षित गर्न उनले ४७ सांसदलाई आफ्नो पक्षमा पार्नुपर्छ । समाजवादीले पनि धेरैभन्दा धेरै सांसदलाई आफूतिर तानेर आचार्यको विरुद्धमा उभ्याउने कोसिस गरिरहेको छ । एमाले छाडेर समाजवादी रोज्ने निर्णय गरेका सांसद राजेन्द्र राईले गठबन्धनसँग मिलेर नयाँ सरकार बनाउने गृहकार्य भइरहेको जानकारी दिए ।

‘अहिलेको सरकारले विश्वासको मत पाउने अवस्था छैन । आचार्य नेतृत्वको सरकार ढालेर गठबन्धनका तर्फबाट नयाँ सरकार बनाउँछौँ,’ उनले भने, ‘विश्वासको मत नपाएपछि आचार्य त्यसै अल्पमतमा पर्छन् । नियमित छलफलमा रहेका १० जनाले समाजवादी रोज्ने निर्णय लिइसकेकाले अहिलेको सरकारको आयु अब केही दिनमात्रै छ ।’

आचार्यले मुख्यमन्त्री पाइसक्दा नै एमालेभित्र विद्रोह सुरु भइसकेको बताउँदै राईले एमालेका अरु केही सांसद पनि आफ्नो सम्पर्कमा आइसकेको बताए । ‘भेटघाट र छलफल गर्दै एमालेभित्र असन्तुष्ट रहेकाहरुलाई समाजवादीतिर ल्याउने प्रयास गर्दैछौँ,’ उनले भने, ‘समाजवादीलाई थप मजवुत बनाउने अभियान जारी छ ।’

९२ सदस्यीय प्रदेशसभामा कांग्रेसका २१, माओवादीका १५, जनता समाजवादी पार्टी (जसपा)का ३ र राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १–१ जना सांसद छन् । कांग्रेस, माओवादी, जसपा र नेपाल नेतृत्वको समाजवादीका सांसद मिसिँदा गठबन्धनलाई नयाँ सरकार गठन गर्न संख्या पर्याप्त हुन्छ ।

प्रकाशित मिति २०७८ भदौ १२ गते शनिबार ०५:१३
हजुरको प्रतिक्रिया