अगस्ट १ देखि भारतमा २५ प्रतिशत कर लगाउदै अमेरीका
काठमाडौं |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि भारतमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । यसको अर्थ भारतबाट अमेरिका जाने कुनै पनि सामानमा २५ प्रतिशत भन्सार शुल्क लाग्नेछ । ट्रम्पले रुसबाट हतियार र तेल खरिद गर्दा २५ प्रतिशत अतिरिक्त आयात शुल्क लगाउने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पका अनुसार भारतले रुसबाट सैन्य उपकरण र तेल किन्छ, जसले रुसलाई युक्रेनमा युद्ध जारी राख्न मद्दत गरिरहेको छ। ट्रम्पले भारतले यसको लागि थप ‘जरिवाना’ तिर्नुपर्नेछ । दुई देशहरू व्यापार सम्झौतामा पुग्न महिनौदेखि वार्ता गरिरहेका बेला ट्रम्पले भारतविरुद्ध कर घोषणा गरेका हुन् । ट्रम्पले यसका लागि अगस्ट १ को समयसीमा दिएका थिए । अन्ततः ट्रम्पले समयसीमाभन्दा दुई दिन अगाडि भारत विरुद्ध कर लगाउने घोषणा गरे । अब सबैभन्दा ठुलो प्रश्न भनेको के भारत रुसको मुद्दामा ट्रम्पको धम्कीको अगाडि झुक्छ कि झुक्दैन ? दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयको रुसी र मध्य एसियाली अध्ययन केन्द्रका सह–प्राध्यापक डा. राजन कुमार भन्छन्, ‘यदि ट्रम्पले तेलको मुद्दामा जोड दिए भने भारतले यस मुद्दामा थोरै हार मान्न सक्छ। हाल भारतले रुसबाट आफ्नो कुल तेल आयातको ४० प्रतिशत खरिद गरिरहेको छ । ट्रम्पको वचन पूरा गर्न यसलाई २० प्रतिशतमा झार्न सक्छ।’ भारतका पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीले पनि यसै महिना यसको संकेत गरेका थिए । नयाँ दिल्लीमा आयोजित ऊर्जा संवाद २०२५ मा पुरीले भने, ‘हामी कुनै पनि प्रकारको दबाबमा छैनौँ। भारतको तेल आयात कुनै पनि देशमा निर्भर छैन। हामी सम्पूर्ण मामिलाको बारेमा कुनै पनि हिसाबले चिन्तित छैनौँ। यदि केही भयो भने, हामी यसलाई सम्हाल्नेछौँ। तेल आपूर्तिमा कुनै समस्या छैन।’ डा. राजन कुमार भन्छन्, ‘यो सबैभन्दा ठुलो मुद्दा हो । सैन्य उपकरण खरिद सम्बन्धी ट्रम्पको धम्कीको अगाडि भारत झुक्ने छैन। वास्तवमा, ट्रम्प चाहन्छन् कि भारतले रुसको सट्टा अमेरिकाबाट सैन्य उपकरण किनोस्। तर, भारतले यो गर्ने छैन किनभने रुसले सैन्य उपकरण मात्र दिँदैन तर आफ्नो प्रविधि पनि दिन्छ।




