२०८३ साउन २१ गते बिहीबार

कालिका भगवतीलाई चढाइयो खीर

कालिका भगवतीलाई चढाइयो खीर

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ साउन १६ गते बिहीबार ०३:५०

बागलुङ । आज बागलुङ कालिका भगवतीलाई खीर चढाइएको छ । मन्दिरमा वर्षको एक पटक साउन महिनामा खिर चढाउने चलन छ । मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रामबहादुर खड्काले खीर चढाउने तिथि भने तलमाथि पर्ने गरेको बताए । संयोगले यसपालि...

बागलुङ ।

आज बागलुङ कालिका भगवतीलाई खीर चढाइएको छ । मन्दिरमा वर्षको एक पटक साउन महिनामा खिर चढाउने चलन छ ।

मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रामबहादुर खड्काले खीर चढाउने तिथि भने तलमाथि पर्ने गरेको बताए । संयोगले यसपालि साउन १५ मै परेको उनको भनाइ छ ।

आज बिहान ५ बजेदेखि ७ बजेसम्मको साइत खिर चढाउनका लागि उत्तम रहेको थियो । शक्तिस्वरुपा कालिका भगवतीलाई खीर चढाएपछि मात्र अन्य पाहुना र भक्तजनलाई प्रसादका रुपमा खीर खुवाउने गरिएको समितिका उपाध्यक्ष निशान खड्काले बताए ।

पूर्वजहरुका पालादेखि नै मन्दिरमा खीर चढाउने चलन सुरु भएको उनको भनाइ छ ।

पहिलेपहिले कालिका भगवती देवीलाई खीर चढाएपछि मात्र बल्ल घरघरमा खीर पकाएर खाने चलन थियो ।

मन्दिर परिसरमा रहेको सालको पातबाट बनेका नयाँ टपरी र दुनामा राखेर विधिपूर्वक पूजाआजा गरेपछि बल्ल देवीलाई खीर चढाउने गरिन्छ ।

यस मन्दिरमा वर्षको अरु कुनै पनि दिनमा खीर चढ्दैन ।

नवदुर्गा, महालक्ष्मी, महाकाली, महासरस्वती, चण्डिका र गणेशलाई चढाएपछि मन्दिरमा आएका भक्तजनालाई प्रसादीका रुपमा खीर खुवाउने गरिन्छ ।

पछिल्लो समय सरकारी तथा गैरसरकारी क्षेत्रका विशिष्ट पाहुनालाईसमेत बोलाएर खीर खुवाउने गरिएको उपाध्यक्ष खड्काले बताए ।

विसं १५९१ मा मन्दिर स्थापना भएदेखि नै साउन महिनामा देवीलाई खीर चढाएर मात्र घरघरमा खीर फुक्ने गरेको यहाँका पाकापुराना बताउँछन् ।

सोही परम्परालाई पछिल्लो पुस्ताले पनि धान्दै आएको हो । पहिले घरघरबाट दूध ल्याएर मन्दिर परिसरमै खीर पकाउने चलन रहेपनि अहिले भैँसी पाल्ने चलन हटेपछि बजारबाट दूध किन्ने गरिएको छ ।

दूधलगायत सबै सरसामानको जोहो गरेर समितिले नै खिर खुवाउने कार्यक्रमको प्रबन्ध गर्ने गर्छ ।

झण्डै पाँच सय वर्षअघि स्थापना भएको कालिका भगवती मन्दिर देशमै प्रख्यात शक्तिपीठमा गनिन्छ ।

तत्कालीन पर्वते राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरी विश्रवादेवीसँग विवाह गर्दा देवीलाई दाइजो स्वरुप ल्याएको इतिहासमा उल्लेख छ ।

प्रकाशित मिति २०८२ साउन १६ गते बिहीबार ०३:५०
हजुरको प्रतिक्रिया