म्याग्दी ।
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी सामुदायिक माध्यमिक विद्यालयमा ई–हाजिरी प्रणालीको सुरुवात भएको छ ।
विद्यालयमा विद्यार्थी प्रवेश गर्दा र घर जाँदा हाजिरीका हरेक जानकारी अभिभावकलाई गराउने उद्देश्यका साथ ई–हाजिरीको व्यवस्था गरिएको हो ।
यसले कक्षा कोठामा रोल नम्बर भन्दै हाजिरी लिने झन्झट हटेको विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठ बताउँछन् । यसै शैक्षिक सत्रदेखि सुरु गरिएको ‘ई–हाजिरी’ प्रणालीले विद्यालयलाई विद्यार्थीको नियमित जानकारी राख्नुका साथै अभिभावकालाई दिन सहज बनाएको उनको भनाइ छ ।
विद्यार्थीले आफ्नो कार्डमा भएको चिपलाई डिभाइसमा स्क्यान गरेपछि उनीहरूको हाजिरी स्वतः विद्यालयको सिस्टममा दर्ता हुन्छ ।
स्मार्ट विद्यालयको रुपमा रुपान्तरण गर्ने अभियानमा रहेको विधालयले गेटदेखि कक्षा कोठामा स्मार्ट बोर्ड सहित विद्यालय परिसरलाई नै प्रविधिमैत्री बनाउने आवश्यक तयारीमा जुटेको छ । विद्यार्थीहरु विद्यालयबाट घर फर्किएपछि ढिलो भएमा खोजीकार्यसँगै शैक्षिक नतिजा समेत सजिलै घरमै हेर्न मिल्ने अभिभावक आनन्द रिजालको भनाई छ ।
आईडी कार्ड देखिाएर इ–हाजिरी गर्दै गरेका विद्यार्थीलाई यसको महत्वका बारेमा समेत जानकारी गराउने गरिएको छ ।
यो सुविधाले धेरै सहज भएको कक्षा १० मा अध्ययनरत सञ्जीविनी अधिकारीको भनाई छ ।
प्रकाशित मिति २०८२ साउन १७ गते शुक्रबार ०८:१७




