२०८३ साउन २१ गते बिहीबार

अब लाइसेन्स निकाल्न यी कुरा अनिवार्य (माेटरसाइकल, स्कुटर तथा कार, जीपका लागि पढ्नैपर्ने)

अब लाइसेन्स निकाल्न यी कुरा अनिवार्य (माेटरसाइकल, स्कुटर तथा कार, जीपका लागि पढ्नैपर्ने)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १४ गते सोमबार ०६:३२

पाेखरा । आगामी भदौ २० गतेदेखि काठमाडौंका दुई वटा लाइसेन्स कार्यालयले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्र्रायल) परीक्षा सुरु गर्ने भएका छन् । गण्डकी प्रदेशमा भने याे व्यवस्थाका लागि भदाै अन्तिम सातासम्म कुर्नुपर्ने...

बस्तुगत प्रश्नकाे संगालाेसहित

पाेखरा । आगामी भदौ २० गतेदेखि काठमाडौंका दुई वटा लाइसेन्स कार्यालयले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्र्रायल) परीक्षा सुरु गर्ने भएका छन् । गण्डकी प्रदेशमा भने याे व्यवस्थाका लागि भदाै अन्तिम सातासम्म कुर्नुपर्ने यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र गण्डकीका निमित्त कार्यालय प्रमुख भरतराज काफ्लेले बताएका छन् ।

तर, अव शुरू हुने परिक्षा यसअघिकाे जस्ताे भने हुनेछैन् । कोभिड-१९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड-२०७८’ नै जारी गरेर परीक्षा सुरु गर्न लागिएको छ ।

काेभिडकाे जाेखिमका कारण परीक्षार्थी स्वयमले अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र आफ्नो पीउने पानीको व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख छ । भिडभाड नगरी भौतिक (सामाजिक) दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीहरूको शारीरिक तापक्रम मापन गर्नुपर्ने लगायतका व्यवस्था पनि गरिएको छ ।

मापदण्डअनुसार परीक्षा सुरु हुनु अगावै परीक्षार्थीहरुलाई उनीहरुको ट्रायल हुने समय तोकी तोकिएको समयमा परीक्षा सञ्चालन गरिनेछ । यसरी तोकिएको समयमा उपस्थित हुन नसक्ने परिक्षार्थीलाई अनुपस्थित भएको मानिने र सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने नियम बनाइएको छ ।

परिक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराउने व्यवस्था गरिएको छ । परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परिक्षार्थीलाई मात्र सहभागी गराउने भनिएको छ ।

अर्काे, अब सुरु हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ नियमहरु लागू गर्ने हुनेछन् ।

नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक भएको छ ।

त्यही संग्रहभित्रबाट २० वटा वस्तुगत बहुउत्तर प्रश्न सोधिनेछ । ३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्यूनतम ७० अंक ल्याउनुपर्नेछ ।

यस्तै,  लिखित परीक्षा पास भएका परीक्षार्थीले आफ्नै सवारी साधनबाट ट्रायल परीक्षा दिन सक्नेछन् । तर, त्यसका लागि मोटरसाइकल तथा स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२ सय मिलिमिटरको हि्वल बेस भएको, मोटरसाइकलमा म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रोपक्ष बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।

कार जीपको हकमा कम्तिमा ७५० सीसी इन्जिन भएको, कम्तीमा २३ सय मिलिमिटर हि्वल बेस भएको, लम्बाइ चौडाइ र उचाइ क्रमशः ३३००, १४५० र १४५० मिलिमिटर भएको, समान प्रकृतिका ‘हिल होल्ड र हिल असिस्ट’ जोडिएको तथा सवारीको दर्ता र बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।

निर्देशिकाअनुसार ट्रायलमा प्रयोग गरिने सवारीमा इन्धन आपूर्ति, ब्रेक र ट्रान्समिसन प्रणाली चुस्त हुनुपर्नेछ । झ्याल, ढोका, लकलगायतका प्रणाली ठीक हुनुपर्छ । ट्रायल गर्दा कार/जीपको ‘रेयर भ्यू’ क्यामेरा छोप्नुपर्नेछ ।

नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू हुनेछ । ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ ले लिखित र प्रयोगात्मक (ट्रायल) दुवै परीक्षाको मोडालिटी परिवर्तन गरेको छ ।

हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक-फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।

मोटरसाइकल/स्कुटरको ट्रायल अब यस्ताे हुनेछ ।

मोटरसाइकल/स्कुटर/मोपेडको ट्रायल परीक्षा १०० अंकको हुनेछ । त्यसमा कम्तीमा ७० अंक ल्याए मात्रै उत्तीर्ण भएर लाइसेन्स हात पर्नेछ ।

१. घुमाउरो ‘8’

मोटरसाइकलको ट्रायलमा अब घुमाउरो ‘8’ को चरणलाई २० अंक दिइएको छ । घुमाउरो ‘8’ मा एकपटक भन्दा बढी अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा बढी भुइँमा खुट्टाले टेकेमा, ठीक दिशाबाट ठीक तरिकाबाट 8 नबनाएमा र सवारीको स्टार्ट बन्द भएमा परीक्षार्थी अनुत्तीर्ण हुनेछ । तर, ‘8’ भित्र एक पटकसम्म अंकित रेखा छोएमा र एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा ५–५ अंक काटिनेछ ।

२. साँघुरो फलेक

साँघुरो फलेकको चरणलाई १० अंक राखिएको छ । यो चरणमा परीक्षार्थी भुँइमा टेक्ने वा फलेक पार गर्नुअघि नै बाहिर निस्किएमा अनुत्तीर्ण हुनेछ ।

३. यू–टर्न

‘यू–टर्न’लाई पनि १० अंकभार छ । सवारीमा टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंक काटिनेछ । तर, अंकित रेखा छोएमा भने अनुत्तीर्ण हुनेछ ।

४. ट्राफिक लाइट

ट्राफिक लाइटको चरणलाई १५ अंक राखिएको छ । यदि ट्राफिक लाइट नियम पालन नगरेमा १५ अंक नै काटिनेछ । तर, परीक्षार्थी अनुत्तीर्ण भने हुने छैन ।

५. उबड–खाबड (बम्प्स)

उबड–खाबड (बम्प्स) चरणलाई १५ अंकको भार छ । यो भागमा एक पटकसम्म खुट्टाले भुइँ टेकेमा ५ अंक काटिनेछ । यो भागमा एक पटकसम्म सवारीको स्टार्ट बन्द भएमा पनि ५ अंक घट्नेछ । यी दुवै गल्ती एकपटक भन्दा बढी गरेमा परीक्षार्थी अनुत्तीर्ण हुनेछ ।

६. उकालो (र्‍याम्प)

उकालो (र्‍याम्प) को अंकभार २० छ । यो भागमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, ओरालो झर्दा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, एकपटभन्दा बढी सवारी स्टार्ट बन्द भएमा परीक्षार्थी अनुत्तीर्ण हुनेछ । उकालोमा एकपटकसम्म सवारीको स्टार्ट बन्द भए पनि अंक काटिने छैन ।

७. व्यवहारगत पक्ष

परीक्षार्थीको व्यवहारगत पक्षको मूल्याङ्कनलाई १० अंक दिइएको छ । सवारी चलाउनुपूर्व सवारीको ऐना, टायर, ब्रेकको सामान्य परीक्षण नगरेमा ३ अंक काटिनेछ । हेल्मेटको लक नलगाई सवारी चलाएमा ४ अंक काटिनेछ । अस्वाभाविक रुपले असंयमित तरिकाले सवारी चलाएमा ३ अंक काटिनेछ ।

कार/जीपको ट्रायल अब यस्ताे हुनेछ । 

कार, जीप र भ्यानको ट्रायलको पूर्णाङ्क पनि १०० छ । त्यसमध्ये परीक्षाका विभिन्न चरणमा गरी ७० अंक जोड्ने परीक्षार्थीले लाइसेन्स पाउनेछन् ।

१. घुमाउरो ‘8’

कार जीपको ट्रायलमा पनि घुमाउरो ‘8’लाई २० अंकको भार दिइएको छ । घुमाउरो ‘8’ मा दुई पटकसम्म अंकित रेखा छुन पाइनेछ । तर, प्रत्येक पटक ५–५ अंक काटिनेछ । दुई पटकभन्दा बढी छोएमा, टायर अंकित रेखाभन्दा बाहिर गएमा, ठीक दिशाबाट ठीक तरिकाबाट ‘8’ नबनाएमा र अगाडि बढ्नुपर्ने बेला सवारी साधन पछाडि सारेमा भने परीक्षार्थी अनुत्तीर्ण हुनेछ ।

२. उबड–खाबड (स्पिड ब्रेकर)

उबड–खाबड (स्पिड ब्रेकर)को चरणलाई १० अंकभार छ । एक पटकसम्म सवारीको स्टार्ट बन्द भयो भने ५ अंक काटिनेछ । तर, एकपटक भन्दा बढी स्टार्ट बन्द भएमा भने अनुत्तीर्ण हुनेछ ।

३. यू–टर्न

यू–टर्नको चरणलाई १० अंकको भार छ । युटर्न गर्दा टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंक काटिनेछ । तर, यो भागमा अंकित रेखा छोएमा अनुत्तीर्ण हुनेछ ।

४. ट्राफिक लाइट

ट्राफिक लाइटलाई १५ अंकभार छ । ट्राफिक लाइटको नियम पालना नगरेमा १५ अंक नै काटिनेछ ।

५. उकालो (र्‍याम्प)

उकालो (र्‍याम्प)लाई १५ अंकभार छ । यो भागमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, ओरालो झर्दा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, एकपटकभन्दा बढी सवारी स्टार्ट बन्द भएमा परीक्षार्थी अनुत्तीर्ण हुनेछ । उकालोमा एकपटकसम्म सवारीको स्टार्ट बन्द गर्दा अंक घट्ने छैन ।

६. ग्यारेज पार्किङ

ग्यारेज पार्किङको चरणलाई २० अंकभार छ । यो भागमा सवारी पछाडि सार्ने क्रममा एक पटकसम्म अघि सरेमा १० अंक काटिनेछ । एकपटकभन्दा बढी अगाडि सरेमा वा अंकित रेखा छोएमा अनुत्तीर्ण हुनेछ ।

७. व्यवहारगत पक्ष

परीक्षार्थीको व्यवहारगत पक्षको परीक्षालाई १० अंकभार छ । सवारी साधन चलाउनुपूर्व ऐना, टायर, ब्रेकको सामान्य परीक्षण नगरेमा ३ अंक, सिटबेल्ट नलगाई सवारी चलाएमा ४ र अस्वाभाविक रुपले असंयमित तरिकाले सवारी चलाएमा ३ अंक काटिनेछ ।

५०० वटा वस्तुगत प्रश्नको संग्रहका लागि तलकाे लिंक क्लिक गर्नुहाेस् । यहिँबाट लिखित परिक्षाकाे प्रश्नहरू साेधिनेछ । 

CategoryA,KQuestionAnswerSet,20782021-06-23_05-01-09-931

प्रकाशित मिति २०७८ भदौ १४ गते सोमबार ०६:३२
हजुरको प्रतिक्रिया