२०८३ साउन २१ गते बिहीबार

जुँगाको लडाईमा विवेकशील साझा

जुँगाको लडाईमा विवेकशील साझा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १५ गते मंगलबार ०१:२७

पाण्डेले बोलाएको बैठकमा बैठक सञ्चालन कार्यविधि पारित गर्ने, न्याय तथा सुशासन आयोग गठन गर्ने, वैकल्पिक पाठशाला (स्कुल अफ अल्टरनेटिभ पोलिटिक्स) को स्थापना, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा लगायतका एजेण्डामा छलफल हुने भनिएको छ ।

अध्यक्ष रविन्द्र मिश्र र संयोजक मिलन पाण्डेले डाके छुट्टाछुट्टै बैठक

पोखरा । आम जनतामा खासै प्रभाव जमाउन नसकेपनि सामाजिक सञ्जाल र आफ्नै पार्टी गतिविधीले बेला बेलामा चर्चामा आइराख्ने विवेकशिल साझा अहिले आफ्नै अध्यक्ष र संयोजकको जु‌ँगाकाे लडाईमा फसेको छ ।

तामझामले एक भएका यी दुई पार्टी यसअघीपनि यस्तै जुँगाकाे लडाईले छुट्टिएका थिए । छुट्टिँदा यी दुवैले छुटको औचित्य सिद्द गर्न सकेनन् र फेरि जाेडिए । जोडिनुको औचित्य खोज्नुपर्नेबेला याे दल अहिले फेरि फुट् नजिकै पुग्नै आँटेको छ ।

यतिबेला फेरि विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । अध्यक्ष रविन्द्र मिश्रले एकतर्फीरुपमा बिहीबारका लागि बैठक बोलाएको भन्दै संयोजक मिलन पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

मिश्रले ‘पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न’ भन्दै मंगलबार केन्द्रीय सदस्यहरुलाई इमेल गरेर बैठक बोलाएका थिए । संयोजक पाण्डेले मिश्रले बोलाएको बैठक एकीकरणको सम्झौता विपरीत भएको भन्दै मंगलबार नै बैठक रोक्न माग गरेका थिए । तर फेरि बुधबार उनले पनि केन्द्रीय सदस्यहरुलाई पत्र पठाउँदै भदौ १७ गते बिहान ११ बजेका लागि छुट्टै बैठक आह्वान गरेका छन् ।

‘विवेकशील साझा पार्टीको विधान दफा २० (१०) अनुरुप यसअघि केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने एवं एजेण्डा तय गरिने गरिएको व्यहोरा यहाँहरु सबैलाई अवगतै छ’ पत्रमा भनिएको छ, ‘यसपटक पनि उक्त अभ्यास अनुरुप एजेण्डामा सहमति कायम गर्न गरिएको हरसम्भव प्रयास सफल हुन नसकेको र पार्टीको अध्यक्षले उहाँकै शब्दमा मार्ग परिवर्तन गर्नु भएका कारण पार्टीलाई लामो समय अनिर्णयको बन्दी बनाउनु उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ (३) ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरी बैठक आह्वान गरेको छु ।’

पाण्डेले बोलाएको बैठकमा बैठक सञ्चालन कार्यविधि पारित गर्ने, न्याय तथा सुशासन आयोग गठन गर्ने, वैकल्पिक पाठशाला (स्कुल अफ अल्टरनेटिभ पोलिटिक्स) को स्थापना, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा लगायतका एजेण्डामा छलफल हुने भनिएको छ ।

पछिल्लोपटक पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थाको वकालत गर्दै सघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने मागसहितको दस्तावेज सार्वजनिक गरेपछि पार्टीमा वैचारिक मतभेद छ । यसबीचमा अध्यक्ष मिश्रको प्रतिवेदनलाई काउन्टर दिँदै संयोजक पाण्डेसहित ४ नेताले अर्को दस्तावेज सार्वजनिक गरिसकेका छन् ।

पार्टीमा यतिवेला अध्यक्ष र संयोजक दुवै एकअर्काविरुद्द खनिएको अवस्था छ । एउटाले केहि बोल्यो कि अर्कोले सामाजिक सञ्जालमार्फत आलोचना गरिहाल्छन् ।

प्रकाशित मिति २०७८ भदौ १५ गते मंगलबार ०१:२७
हजुरको प्रतिक्रिया