२०८३ असोज २४ गते शनिबार

हाल देशभर मनसुन सक्रिय : गण्डकीसहित अन्य प्रदेशका धेरै ठाउँमा वर्षा जारी

हाल देशभर मनसुन सक्रिय : गण्डकीसहित अन्य प्रदेशका धेरै ठाउँमा वर्षा जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २९ गते बुधबार १०:२६

महाशाखाका अनुसार मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र एक÷दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

पोखरा ।

मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले हाल देशभर मनसुन सक्रिय भएको छ ।

जसका कारण अहिले गण्डकी, कोशी, मधेश, बागमती प्रदेशको धेरै ठाउँमा तथा बाँकी प्रदेशको एक÷दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज सात वटै प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र एक÷दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र एक÷दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
गएराति झापा, उदयपुर, बाँके, डोटीलगायतका जिल्लामा ठूलो पानी परेको थियो ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आउँदो २४ घण्टामा कतै कतै अति ठूलो पानी पर्ने तर त्यो थोरै अवधि पर्ने सम्भावना छ ।

आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै ठाउँमा र बाँकी प्रदेशको पहाडी र तराई भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागको थोरै ठाउँमा ठूलोदेखि अति ठूलो तथा लुम्बिनी प्रदेशको तराईको भागको थोरै ठाउँ, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भागको एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै नदी किनार, डुबान हुने क्षेत्र र पहिरो जान सक्ने सम्भावित ठाउँमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

भोलि र पर्सि आजको तुलनामा कम पानी पर्ने सम्भावना रहेको मौसमविद् झाले बताए ।

प्रकाशित मिति २०८२ साउन २९ गते बुधबार १०:२६
हजुरको प्रतिक्रिया