काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई फोन गरेर वासिङ्टन भ्रमणमा बोलाएका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घन्टा वार्ता गरेर वाशिङटन फर्कँदै गर्दा ट्रम्पले विमानबाटै जेलेन्स्कीसँग टेलिफोन संवाद गरेका हुन् । ट्रम्पले विमानबाटै जेलेन्स्की र नेटो आबद्ध युरोपेली नेताहरूसँग संवाद गरेकोे ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्ययमहरुले जनाएका छन् ।
ट्रम्पसँगको कुराकानीपछि जेलेन्स्कीले सोमवार वासिङ्टन जाने बताएको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पसँग भेटेर युक्रेनमा चलिरहेको हत्या र युद्ध अन्त्यका लागि छलफल गर्ने जेलेन्स्कीले उल्लेख गरेका छन् ।
यसैबीच पुटिनसँग वार्ता सकिएपछि फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले बल अब जेलेन्स्कीको कोर्टमा पुगेको बताएका छन् । सम्झौता नभए पनि धेरै बुँदामा सहमत भएकाले तत्कालका लागि धेरै प्रगती भएको उनको भनाइ छ ।
अब युद्ध रोक्ने प्रक्रियामा युरोपेली नेताहरू पनि संलग्न हुनुपर्ने ट्रम्पले उल्लेख गरेका छन् । रूसी राष्ट्रपति पुटिनले युक्रेनमा युद्धविरामका लागि आफ्ना अडानहरू कायमै राखेका छन् ।
पत्रकार सम्मेलनका क्रममा पुटिनले युक्रेनको ठूलो भू–भाग रूसी नियन्त्रणमा जाने, सेना घटाउने, युक्रेनलाई नेटोमा सहभागी नगराउने र युक्रेनको सरकार परिवर्तन गर्ने अडान राखेका छन् ।
यी मागलाई युक्रेन र पश्चिमी देशहरूले अस्वीकार्य भनेका छन् । यसैबीच रुसले गएराति युक्रेनमा ८५ वटा आत्मघाती ड्रोन र एउटा ब्यालेष्टिक क्षेप्यास्त्र प्रहार गरेको र ति मध्ये ६१ वटा ड्रोल खसाल्न सफल भएको युक्रेनी सेनाले जनाएको छ ।
प्रकाशित मिति २०८२ साउन ३२ गते शनिबार ०८:०५




