काठमाडौं ।
नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताएका छन् ।
काठमाडौंमा शुक्रबार ज्ञानज्योति महिला माध्यामिक विद्यालयको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले स्खलनतर्फ उन्मुख देशको राजनीतिक र सामाजिक अवस्थालाई उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीहरुको भएको बताए ।
सबै मिलेर कसरी देशलाई अघि बढाउन सकिन्छ ? भन्ने सकारात्मक सोचका साथ अघि बढ्न जरुरी रहेको उनको भनाइ छ ।
सांसद कोईरालाले कनिका छरेको जस्तो अनुदान दिएर विद्यालय विकास हुन नसक्ने पनि टिप्पणी गरे ।
लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले शिक्षित समाज बनाउन जरुरी रहेकोमा जोड दिए ।
सांसद कोईरालाले भने, ‘लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्वपूर्ण कुरा हो । शिक्षित समाज भयो भने सभ्य देश बन्छ । घरमा एउटा महिला शिक्षित भए भने परिवार नै शिक्षित हुन्छ । हामी कतै न कतै चुकिरहेका छौँ । नियम, ऐन, कानून बनाउने मानिसहरु, सरकारमा बस्ने साथीहरु चुकेका छौँ । पत्रकार मित्रहरु पनि चुकेको म देख्छु । सार्वजनिक विद्यालयलाई प्रवद्र्धन गर्ने हिसावले अघि बढ्ने हो भने हामी सफल भइन्छ । अहिले राजनीतिक मात्रै सामाजिक अवस्था पनि देशको स्खलनतिर गइरहेको छ । झरिरहेको छ । त्यसलाई उकास्ने जिम्मा स्कुलहरुले पनि लिनुपर्छ, राजनीतिज्ञहरु, कर्मचारीहरुले पनि लिनुपर्छ । सबै मिलेर कसरी देशलाई अघि बढाउन सकिन्छ ? सकारात्मक सोचका साथ अघि बढ्ने हो भने देशलाई अघि बढाउने कल्पनामा अघि बढ्नसक्छौँ ।’
सांसद कोईरालाले राज्यमा भएका सामुदायिक विद्यालयलाई कसरी राम्रो बनाउने भन्नेमा सरकार जानुपर्ने जिकिर गरे ।
शिक्षाले नै विश्वलाई चिनाउनसक्ने भएकाले शिक्षामा पहिलो जोड दिनुपर्ने उनको भनाइ थियो ।
प्रकाशित मिति २०८२ भदौ ६ गते शुक्रबार १०:३६




