२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा १५ जनाको ज्यान गएपछि विपद् व्यवस्थापनको बैठक बस्यो

गण्डकीमा १५ जनाको ज्यान गएपछि विपद् व्यवस्थापनको बैठक बस्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १८ गते शुक्रबार ०२:५३

पोखरा– गण्डकीमा अविरल वर्षापछिको पहिरोले दुई दिनको अवधिमा १५ जनाको ज्यान गएको छ । लगातार परिरहेको पानीका कारण पोखराका विभिन्न स्थानमा जमिन भासिएको छ भने प्रदेशका विभिन्न स्थानमा खसेको पहिरोले हालसम्म १५ जनाको ज्यान गएको छ । पहिरोको...

उद्दार र राहतमा लाग्न मुख्यमन्त्रीको निर्देशन

पोखरा– गण्डकीमा अविरल वर्षापछिको पहिरोले दुई दिनको अवधिमा १५ जनाको ज्यान गएको छ । लगातार परिरहेको पानीका कारण पोखराका विभिन्न स्थानमा जमिन भासिएको छ भने प्रदेशका विभिन्न स्थानमा खसेको पहिरोले हालसम्म १५ जनाको ज्यान गएको छ ।

पहिरोको चपेटामा परेर १५ जना प्रदेशवासीको ज्यान गुमिसकेपछि प्रदेश सरकारले बल्ल विपद् व्यवस्थापन समितिको बैठक राखेको छ ।  गण्डकी प्रदेश विपद् व्यवस्थापन समितिको बैठक शुक्रबार बसेको हो ।

बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राहत र उद्धारमा कुनै कसर नराख्न निर्देशन दिएका छन्।

बुधवार रातिदेखि परेको अविरल वर्षाका कारण कास्कीको भलाम, काहुँ र कसेरीमा पाँच जनाले ज्यान गुमाएका थिए भने बिहीबार साँझदेखि परेको वर्षाका कारण पहिरोले पुरेर शुक्रबार पर्वतमा ज्यान गुमाउनेको संख्या १० पुगेको छ।

कुश्मा नगरपालिका दुर्लुङमा एकै परिवारका पाँच जनाले पहिरोमा पुरिएर ज्यान गुमाएका छन्। बिहानसम्म छ जनाले ज्यान गुमाएको पर्वतमा दिउँसो पहिरोमा हराइरहेका थप चार जनाको पहिचान भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

पछिल्लो पटकको पहिरोमा हराइरहेको भनिएका कुश्मा नगरपालिका पकुवाका ४० वर्षीया माया पौडेल र ३ वर्षीय प्रयुष पौडेलको शव भेटिएको छ। सोही पहिरोमा परी ७० वर्षीया डल्ली पाध्या पौडेल हराइरहेकी छिन्।

बाढी पहिरोमा परेर असार यता मात्रै गण्डकीमा २७ जनाले ज्यान गुमाएका छन् भने ८ जना बेपत्ता भएका छन्। शुक्रबार बसेको आकस्मिक बैठकमा पोखरेलले सुरक्षा निकायका प्रमुख, मन्त्रालयका सचिव र मातहतका सबै निकायलाई समेत निर्देशन गरेका हुन्। विपद व्यवस्थापनको काम ३ तहकै सरकारको समन्वयमा हुने भएकाले पीडितले महसुस गर्ने गरी काम गर्न उनले आग्रह गरे।

प्रदेश सरकारले विपदमा निधन भएका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ, बेपत्ताका परिवारलाई पनि १ लाख रुपैयाँ दिने गरी कार्यविधि बनाएको छ। यसैगरी खाद्यान्नका लागि १५ हजार, अस्थायी आवासका लागि २५ हजार र उपचार खर्च ५० हजार रुपैयाँसम्म प्रदेशले बेहोर्छ। सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै राहत विपतरणको काम हुने र त्यसका लागि रकम समेत गइसकेको छ।

मुख्यमन्त्री पोखरेलले पीडित र पीडितको परिवारबाट लगातार गुनासो आउँदा कतै उनीहरुले राहत नपाएको हो कि भन्ने अनुभूति भएको बताए। जिल्ला प्रशासनबाट राहत रकम वितरणको रेकर्ड पनि नियमित रुपमा लिन उनले प्रमुख सचिवलाई निर्देशन दिए। पहिरोले सडकमा क्षति पुर्याएर यातायात बन्द भएको ठाउँमा तत्काल डोजर पठाएर यातायात चलाउन मुख्यमन्त्रीले भौतिक पूर्वाधार सचिवलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति २०७८ भदौ १८ गते शुक्रबार ०२:५३

हजुरको प्रतिक्रिया