२०८३ साउन २१ गते बिहीबार

वीरगञ्जमा हैजा प्रकोपः नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

वीरगञ्जमा हैजा प्रकोपः  नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ८ गते आइतबार ०६:०१

सम्भवतः पिउने पानी कन्ट्यामिनेट भएर यो हैजा फैलिएको हुनसक्ने अनुमान हो ।

वीरगञ्जमा शुकबार यता ४४ जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं ।
पर्साको वीरगञ्जमा शुकबार यता ४४ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ । वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत १२९ जना बिरामीमध्ये ४४ जनामा हैजा संक्रमण पुष्टि भएको हो । खानेपानी पाइपमा ढलको दूषित पानी मिसिँदा हैजा फैलिएको आशंका विज्ञहरूले गरेका छन् । हैजा प्रभावित विभिन्न ११ स्थानका पानीका नमुना संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशाला पठाइएको छ । प्रयोगशालाको रिपोर्ट आज आउने भनिएको छ ।

वीरगञ्ज महानगरपालिका(११, १२, १३ र १६ मा हैजाको प्रकोप फैलिँदा वीरगञ्जका अस्पतालहरूमा बिरामीको चाप बढिरहेको छ । जनस्वास्थ्य कार्यालय पर्साका अनुसार पछिल्लो १० वर्षयता पहिलो पटक वीरगञ्जमा हैजाको प्रकोप देखिएको हो । ‘भिब्रियो कोलरी’ नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि यो हैजा लाग्ने गर्छ । झाडापखलाको लक्षण देखा परेर उपचार गराउन आएका दुई व्यक्तिको मृत्युसमेत भइसकेको छ । तर उनीहरूमा हैजाको संक्रमण भने पुष्टि भएको छैन ।

वीरगञ्जस्थित नारायण अस्पतालमा उपचार गराउन आएका झाडापखलाका बिरामीमा बढी संख्यामा हैजाको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा मात्रै ४४ जना झाडापखलाका बिरामी उपचाररत छन् । जसमध्ये २३ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । बिरामीसँग सोधपुछ गर्दा यसको मुख्य कारण खानेपानी नै हो कि भन्ने देखिन्छ । तर पुष्टि भइनसकेकोले यकिनासाथ भन्न सकिने अवस्था छैन । उनीहरूले प्रयोग गर्ने सरकारी धारामा दुई-तीन दिनदेखि धमिलो पानी आएको भन्ने पनि छ । सम्भवतः त्यही पिउने पानी कन्ट्यामिनेट भएर यो हैजा फैलिएको हुनसक्ने अनुमान हो । केन्द्रीय सुरक्षा समितिको बैठक आज गृह मन्त्रालयमा सम्पन्न भयो । बैठकमा मुलुकभरको शान्ति सुरक्षाको समीक्षा गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

त्यसैगरी बैठकले पर्साको वीरगन्जमा फैलिएको हैजा प्रकोपलाई मध्यनजर गरी आवश्यक परेर तत्काल मेडिकल टिम परिचालन गर्ने तयारी भएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले हैजा प्रकोप मध्यनजर गरेर आवश्यक परेर तत्काल परिचालन हुन सक्ने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् ।

हैजाका लक्षणहरू
निरन्तर दिसा लाग्नु
दिसा अधिक पातलो हुनु
पटकपटक बान्ता आउने
पेट वा खुट्टाको मांसपेशी बाउँडिने
छाला चाउरी पर्न थाल्ने
आँखा गाडिनुका साथै मुख सुक्खा हुने
रक्तचाप कम हुने
धेरै पसिना आउने
रिङ्गटा लाग्ने र टाउको अत्यधिक दुख्ने
लामो समयसम्म उपचार नगरिए मुटुको धड्कन छिटो छिटो बढ्ने र बिरामी बेहोससमेत हुन्छ ।

बच्ने उपायहरु
पानी राख्ने भाँडो सफा र सधैँ छोपेर राख्ने
सकेसम्म पानी उमालेर पिउने
उपत्यकाका धेरै ठाउँमा खानेपानीको पाइपमा ढल मिसिने भएकाले सकेसम्म खानेपानी फिल्टर गरी उमालेर पिउने
काँचो खानेकुरा सकेसम्म नखाने गाँजर, मूला, काँक्रो र स्याउ जस्ता नपकाइ खान मिल्ने खानेकुरा राम्ररी सफा पानीले पखालेर खाने
बाहिरबाट आउनेबित्तिकै साबुनपानीले हातधुने बानी बसाल्नु पर्छ ।
धेरै पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी हुने, टाउको दुख्ने जस्ता समस्या देखिए सकेसम्म छिटो चिकित्सकलाई देखाउनुपर्छ ।

प्रकाशित मिति २०८२ भदौ ८ गते आइतबार ०६:०१
हजुरको प्रतिक्रिया