बागलुङ ।
बागलुङको निसीखोलाकै सबैभन्दा ठूलो मेला मानिने कानाबगर तिज मेला सुरु भएको छ ।
वर्षौँ पुरानो मानिने यो मेला नयाँ पुस्ताले संरक्षणमा चासो दिएपछि निरन्तरता पाइरहेको छ ।
निसीखोला गाउँपालिका–४ स्थित कानाबगरमा मनाइने यो मेलामा हजारौँको भिड लाग्ने गर्छ । पहिले सडक सञ्जालको पहुँच नहुँदा पनि मेला भर्नेको संख्या उत्तिकै धेरै थियो ।
अहिले पनि हरेक वर्ष मेला भर्न पूग्नेको संख्या बढ्दै गएको छ । कानाबगरमा लाग्ने मेलालाई वि.सं. २०७० साल अगाडिसम्म तिज मेला व्यवस्थापन समितले संचालन गर्दै आएको थियो ।
तर अहिले भने त्यहाँ स्थापित बृहस्पति युवा क्लवले संचालन गर्दै आएको छ ।
एक दशक अगाडिसम्म कानाबगर बजार नजिकैको पिपलको चौपारीमा मेला लाग्ने गथ्र्यो भने अहिले मध्यपहाडी लोकमार्गको छेउमा लाग्ने गरेको छ ।
यस मेलालाई ऐतिहासिक मेलाका रुपमा लिने गरिएको छ ।
तिज मेलाका अवसरमा पुरुष भलिबल, रस्साकस्सी लगायत खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरको बृहस्पति युवा क्लवका अध्यक्ष लोकिश्वर भुषालले जानकारी दिए ।
मेलाको मंगलबार गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले उद्घाटन गरेका हुन् ।
मेला यही भदौ १५ गतेसम्म संचालन हुने क्लवका अध्यक्ष भुषालले जानकारी दिए ।
प्रकाशित मिति २०८२ भदौ ११ गते बुधबार ०९:४२




