पोखरा ।
पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बागमारामा बागमारामा महोत्सव हुने भएको छ ।
स्थानीय शुभतारा युवा क्लबको आयोजनामा यही भदौ १९ देखि ३० गतेसम्म महोत्सव हुने सोमबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
क्लबका अध्यक्ष देबेन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य पुकार कार्कीले महोत्सवबारे जानकारी दिएका हुन् ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बागमारा महोत्सवले सो क्षेत्रको कला, संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्ने, स्थानीय भाषा, गीत, नृत्य, पोशाक, परम्परा र हस्तकला जस्ता सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने, विभिन्न समुदाय र जनजातिहरूलाई एकै मञ्चमा ल्याएर आपसी समझदारी र सहकार्य बढाउने बताए ।
साथै उनले स्थानीय उत्पादन, हस्तकला, परिकार र पर्यटन गतिविधिलाई बजारसँग जोड्ने अवसर प्रदान गरी आयमा वृद्धि गर्ने अपेक्षा आफुले गरेको बताए ।
भरतपोखरीका युवाहरुले संगठित भइ खेलकुद, मनोरञ्जनात्मक गतिविधि लगायत समग्र शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार वातावरण संरक्षण लगायतका विकास निर्माणका कार्यमा सहजीकरणको भूमिका खेल्न महोत्सव महत्वपूर्ण हुने विश्वास लिएको उनले उल्लेख गरे ।
महोत्सव सांस्कृतिक, सामाजिक, आर्थिक र शैक्षिक दृष्टिले महत्वपूर्ण बनाउन पनि उनले क्लबलाई सुझाव दिए ।
क्लबका अध्यक्ष देबेन्द्र सापकोटाले सांस्कृतिक संरक्षण, सामाजिक एकता, आर्थिक प्रवद्र्धन,पर्यटन आकर्षण, शिक्षा, चेतनाका लागि महोत्सव गर्न लागेको बताए ।
महोत्सवमा जम्मा १४५ स्टल रहनेमा ७० बढी बुकिङ्ग भैसकेको उनले जानकारी दिए । विभिन्न बस्तु तथा सेवाका स्टलहरुका साथै महोत्सवमा फेन्सी, गार्मेन्ट, भाँडा, कृषि, बैक वित्तिय, रेष्टुरेण्टलगायतका स्टलहरु रहने भएका छन् ।
महोत्सवमा बालउद्यान, रत्यौली, विद्यालयस्तरीय नृत्य पनि रहने आयोजकले जनाएको छ ।
स्थापना कालदेखि नै विविध सामाजिक कार्यहरू गर्दै आइरहेको क्लबले स्थानीय समाजको विकास, कला, संस्कृति, खेलकुद र युवाहरूको प्रतिभा प्रवद्र्धनमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको छ ।
महोत्सव सम्पन्न गर्न करीव ४० लाख खर्च लाग्ने अनुमान क्लबको रहेको छ ।
प्रकाशित मिति २०८२ भदौ १७ गते मंगलबार ०९:४४




