२०८३ साउन २१ गते बिहीबार

पत्रकार गोविन्द सुवेदी ‘पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित

पत्रकार गोविन्द सुवेदी ‘पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २० गते शुक्रबार ०७:४९

उनले सबै पर्यटकीय क्षेत्रलाई समान व्यवहार गरिनुपर्ने बताए ।

पोखरा ।

पोखराका क्रियाशील पत्रकार गोविन्द सुवेदीलाई ‘पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मान गरिएको छ ।

पृथ्वी होटल व्यवसायी समितिको १३ औं साधारण सभा तथा सातौं अधिवेशनको अवसरमा शुक्रबार उनलाई नगद २१ हजारल दोसल्ला र सम्मान पत्रसहित पुरस्कार प्रदान गरिएको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणीराज लामिछाने र समितिका अध्यक्ष अम्बिकाप्रसाद घिमिरे (अमृत) लगायतले पत्रकार सुवेदीलाई उक्त पुरस्कार अर्पण गरे ।

पुरस्कृत सुवेदी नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका निवर्तमान महासचिव हुन् । समितिले प्रत्येक दुई–दुई वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पर्यटकीय राजधानी पोखरामा पर्यटक आकर्षित गर्न सेवाको गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।

उनले दक्ष जनशक्ति उत्पादनदेखि प्रवद्र्धनसम्ममा वोर्डले सहयोग गर्ने प्रतिवद्धता जनाए । पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पृथ्वीचोकलाई ब्राण्डिङ गर्न सके पर्यटकलाई आकर्षित गर्न सकिने बताए । उनले पृथ्वीचोकमा पर्यटक आकर्षित गर्न पोखरा सभागृह बनाउनुपर्ने र बसपार्क बन्नुपर्नेमा जोड दिए।होटल व्यवसायी महासंघ, गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले पर्यटन प्रवद्र्धनका लागि सबै समितिको उद्देश्य एउटै भएकाले मिलेर अगाडि बढ्नुपर्ने बताए ।

पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अम्बिकाप्रसाद घिमिरे (अमृत)ले पोखरा पर्यटनको राजधानी भए पनि ठाउँ विशेषलाई प्राथमिकता दिँदा सिटीका होटल ओझेलमा परेको गुनासो गरे । उनले सबै पर्यटकीय क्षेत्रलाई समान व्यवहार गरिनुपर्ने बताए ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पृथ्वी होटल व्यवसायी समिति र होटल संघ पोखरालाई दुश्मन र प्रतिस्पर्धी देखाएर भ्रम फैलाइएको गुनासो गरे। उनले पर्यटकहरू लेकसाइड र पृथ्वीचोक दुवै ठाउँमा बस्ने बताए।कार्यक्रममा पृथ्वी होटल व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष मोतीबहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति २०८२ भदौ २० गते शुक्रबार ०७:४९
हजुरको प्रतिक्रिया