पोखरा। सरकारले विद्युत पोलको भाडा बढाएको विषयमा नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले आपत्ती जनाएको छ । यसअघि मासिक ३०० रुपैयाँ (भ्याटसहित) भाडा तिर्दै आएकोमा सरकारले असोज १५ गतेदेखि लागू हुने गरी पोलको भाडा अधिकतम ५०० प्रतिशतसम्मले वृद्धि गरेको विषयमा महासँघले आपत्ती जनाएको हो ।
भाडा वृद्धिसँगै अब एक पोलका लागि केबल टिभी प्रदायक कम्पनीले अधिकतम २१ सय रुपैयाँसम्म खर्च गर्नुपर्ने भएको छ । त्यसको भार सोझै उपभोक्तामा पर्ने र केबल टिभी व्यवसायीलाई व्यवसायमा टिकिरहन अप्ठ्याराे पर्ने भएपछि पोलभाडा बृद्दीको निर्णयमा पुनर्विचार नगरिए आन्दोलनमा उत्रनुको विकल्प नभएको नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले उल्लेख गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले सरकारको तीव्र आलोचना गर्दै सो निर्णय विरुद्ध आगामी असोज १३ गते राष्ट्र व्यापी भेलाको आयोजना गर्ने जनाएको हो ।
सभाले पोल भाडाको सम्बन्धमा वृहत् छलफल गर्ने र भाडा वृद्धि फिर्ता गर्न दबाब दिने, यदि फिर्ता नभएको खण्डमा सम्पूर्ण व्यवसायीहरूले सरकारलाई तालाचाबी बुझाउनेसम्मको निर्णय गर्ने महासंघका महासचिव मनोज गुरुङले बताए ।
महासचिव मनोज गुरुङ् हस्ताक्षरित विज्ञप्तीमा हाल कार्यान्वयनमा रहेको भनिएको क्लिन फिल्ड नीति समेत कडाइकासाथ लागू गर्न र सबैलाई समान व्यवहार गर्न सरकारसँग माग गरिएको छ ।
हाल मुलुकभर करिब ५०० केबल टिभी प्रदायक कम्पनीहरू र १५० इन्टरनेट सेवा प्रदायक कम्पनी व्यवसायीहरूले सरकारी पोल प्रयोगगरि व्यावसाय गर्दै आएका छन् ।
हेर्नुहाेस विज्ञप्ती





