हिजाे गाेली लागेका तीनै जनाकाे निधन
काठमाडौं।
कालिमाटीमा हिजो प्रहरीले चलाएको गोलीले उदयपुरका ३० वर्षीय देवकुमार सुवेदीको निधन भएको छ।
हिजो दिउँसो २ बजेतिर, प्रदर्शन चर्किदै गर्दा प्रहरीले चलाएको गोली सिधै सुवेदीको पेटमा लागेको थियो । पेट च्यातिँदै आन्द्रा बाहिर आएको थियो । तत्कालै बयोदा अस्पताल पुर्याइए पनि धेरै रगत बगेको थियो । डाक्टरले गरेको प्रयास असफल भयो र आज बिहान ९ बजे सुवेदीको निधन उनका जेठान मनिष बास्तोलाले जानकारी दिए ।
उनको निधनले केवल एउटा शरीरलाई मात्रै थामेन, एउटा परिवारको भविष्य नै लुटेको छ । घरमा ८ वर्षीया छोरी बाबाको प्रतिक्षामा छिन् । उनले बाबा कहिले आउने भनेर सोधिरहेकी छन् । उनको प्रश्नको जवाफ कसैले दिन सक्ने अवस्था छैन । आमाले छोरीलाई अँगालो हालेर रोइरहेकी छन्, तर आफैं अर्धचेत अवस्थामा छिन् ।
८७ वर्षका बुबा र ७२ वर्षकी आमा छोरा गुमाएको पीडामा एकछिन पनि होसमा बस्न सकेका छैनन् । सुवेदी सडक विभागमा सुरक्षा गार्डको काम गर्थे । छोरी र श्रीमती अचेत अवस्थामा छन् । लक्का जवान ढलेपछि सबै जना विक्षिप्त अवस्थामा छौैं,’ बास्तोलाले भने ।
हिजो प्रहरीको गोली लागेर कालिमाटी पुल नजिकै ३ जना घाइते भएका थिए । ति मध्ये अर्जुन भट्ट र दिपक साउदको हिजो राति नै निधन भइसकेको अस्पतालले जनाएको छ । सुवेदीले आज बिहान ज्यान गुमाएका हुन् । सुवेदीको निधनसँगै मृतकको संख्या तीन पुगेको छ ।
हिजोको जेनजी आन्दोलनका क्रममा कालिमाटी क्षेत्रमा रहेका प्रदर्शनकारीहरूले कालिमाटी प्रहरी वृत्तमा आगजानी गरेका थिए । त्यही क्रममा प्रहरीले गोली चलाउँदा विभिन्न व्यक्तिहरू घाइते भएको थिए । घाइतेमध्ये तीन जनाको मृत्यु भएको हो ।
प्रकाशित मिति २०८२ भदौ २५ गते बुधबार ०४:५७




