पोखरा ।
जेनजीको प्रदर्शनपछि अहिलेसम्म देशभरका २९ अस्पतालमा ३० जनाको मृत्यु भएको छ ।
त्यस्तै एक हजार ६१ जनाको विभिन्न अस्पतालहरुमा उपचार भएको छ ।
निजामती कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना, काठमाडौँ मेडिकल कलेज सिनामंगलमा २ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १ जना, फ्रन्टलाइन अस्पतालमा ३ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा २ जना र भेरी अस्पतलालमा ५ गरी ३० जनाको निधन भएको छ । यसमध्ये तीन जना प्रहरी छन् ।
महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको उपचारका क्रममा ज्यान गएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले जानकारी दिएको राससले जनाएको छ ।
यस्तै अहिले २७४ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ । यस्तै ५६ जना ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७ सय १९ जना उपचारपश्चात् घर फर्किसकेका छन् ।
अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८ जना, ट्रमासेन्टरमा ५८ जना र वीर अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज २४, वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ ।
अहिलेसम्म एक हजार ६१ जना घाइते भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सबभन्दा धेरै उपचार ४३६ जना निजामती कर्मचारी अस्पताल, ट्रमा सेन्टरमा १६१ जना र एभरेष्ट अस्पतालमा १०९ जनाको घाइतेको उपचार भएको थियो ।
मन्त्रालयका अनुसार दुई सय ७४ जना घाइतेको उपचार भइरहेको छ भने सात सय १९ जना उपचारपछि घर फर्किसकेका छन् ।
आन्दोलनको क्रममा देशका विभिन्न कारागार बाट साढे १३ हजार कैदीबन्दी तथा तथा पाँच सय थुनुवा फरार भएका छन् ।
फरार कैदीबन्दी तथा थुनुवालाई नियन्त्रणमा लिने काम भइरहको समेत प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८२ भदौ २६ गते बिहीबार ०९:२४




