२०८३ साउन २१ गते बिहीबार

पोखरामा प्रदर्शनकारीले गरेको आगजनीमा परेर ज्यान गुमाउने दुवै महिलाको पहिचान खुल्यो

पोखरामा प्रदर्शनकारीले गरेको आगजनीमा परेर ज्यान गुमाउने दुवै महिलाको पहिचान खुल्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २६ गते बिहीबार ०२:१८

अंशुभरा ग्रुपको भवनमा भेटिएको शव २६ वर्षीया स्वास्थ्यानी खड्काको र नयाँबजारमा भेटिएको अर्को शव ३५ वर्षीया सञ्जु नगरकोटीको रहेकाे प्रहरीले जनाएकाे छ ।

पोखरा ।
जेनजी आन्दोलनका क्रममा पोखरामा निजी व्यावसायिक संस्थामा लागेको आगोमा ज्यान गुमाउने दुई महिलाको पहिचान खुलेको छ । कास्की प्रहरीले लेकसाइड र नयाँबजारमा जलेको अवस्थामा भेटिएका शवको पहिचान सार्वजनिक गरेको हो ।

लेकसाइडस्थित अंशुभरा ग्रुपको भवनमा भेटिएको शव २६ वर्षीया स्वास्थ्यानी खड्काको भएको प्रहरीले पुष्टि गरेको छ । उनी पोखराकै एक स्पामा काम गर्थिन् । प्रहरीले जनाए अनुसार भवनभित्रै रहेका बेला प्रदर्शनकारीले आगजनी गरेपछि उनको जलेर मृत्यु भएको हो । स्वास्थ्यानीको स्थायी ठेगाना दैलेखको बैतेश्वर गाउँपालिका वडा नम्बर ८ रहेको कास्की प्रहरीले जनाएको छ ।

यस्तै, नयाँबजारमा भेटिएको अर्को शव ३५ वर्षीया सञ्जु नगरकोटीको भएको प्रहरीले जनाएको छ । उनले गत असार १ गतेदेखि मात्रै नयाँबजारको सोरूममा काम गर्न थालेकी थिइन् । त्यसअघि उनी घरेलु कामदारको रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । सञ्जुको स्थायी ठेगाना सिन्धुपाल्चोक भएको बुझिए पनि उनको पालिका र वडा भने अझै निश्चित हुन सकेको छैन ।

प्रहरीले दुवै जनाको मृत्यु मंगलबार प्रदर्शनकारीले लगाएको आगोका कारण भएको जानकारी दिएको छ ।

प्रकाशित मिति २०८२ भदौ २६ गते बिहीबार ०२:१८
हजुरको प्रतिक्रिया