२०८३ साउन २१ गते बिहीबार

कास्की प्रशासनले भन्योः प्रदर्शनमा लुटेका सामान फिर्ता गर्नू

कास्की प्रशासनले भन्योः प्रदर्शनमा लुटेका सामान फिर्ता गर्नू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २७ गते शुक्रबार ०८:१८

लुटपाट गरिएका सामग्रीहरु र व्यक्ति पहिचान भएपछि प्रचलित कानून बमोजिम अनुसन्धानको दायरामा ल्याई कारवाही प्रक्रिया अगाडी प्रशासनको चेतावनि छ ।

पोखरा

जिल्ला प्रशासन कार्यालय कास्कीले जेन–जी प्रदर्शनको क्रममा चोरी र लुटपाट गरेको सामान फिर्ता गर्न भनेको छ । फोटो भिडियो हेरेर सामान चोरी गर्ने पहिचान भइरहेकाले फिर्ता गर्न आग्रह गरेको हो ।

लुटपाट र चोरीको सामाग्री फिर्ता नगरे कारवाही प्रक्रिया अगाडी बढाउने चेतावनीसमेत दिएको छ । मंगलबार र बुधबार भएको जेन–जी समूहको आन्दोलनमा प्रहरीको हतियारसँगै सामाग्री लुटिएको जिल्ला प्रशासन कार्यालय कास्कीले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

‘सरकारी, अर्धसरकारी, निजी सम्पत्ति, व्यापारिक प्रतिष्ठान, होटल, राजनीतिक दलका कार्यालय समेतबाट धनमाल, फर्निचर, ईलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटप, भाँडाकुँडा लुटपाट गरिएका र प्रहरी इकाईबाट हातहतियार समेतका सामग्री लुटिएका दृश्यहरु तत् तत् निकायका सिसिटिभी फुटेज र सामाजिक संजालमा देखिएका छन् ।

उक्त दृश्यहरुवाट लुटपाट गर्ने मानिसहरु र सामग्रीहरु लुकाईएका स्थानहरु समेत पहिचान गर्ने काम भईरहेको छ’, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लुटपाट गरिएका हातहतियारसहितका सामाग्री जहाँबाट लगेको हो त्यही फिर्ता गर्न अनुरोध गरिएको छ । सीसिटिभी फुटेल र सामाजिक सञ्जालमा अपलोड गरिएका दृश्यहरुवाट लुटपाट गर्ने व्यक्ति र सामग्रीहरु लुकाईएका स्थानको समेत पहिचान भइरहेको जनाइएको छ ।

लुटपाट गरिएका सामग्रीहरु र व्यक्ति पहिचान भएपछि प्रचलित कानून बमोजिम अनुसन्धानको दायरामा ल्याई कारवाही प्रक्रिया अगाडी प्रशासनको चेतावनि छ ।

प्रकाशित मिति २०८२ भदौ २७ गते शुक्रबार ०८:१८
हजुरको प्रतिक्रिया