२०८३ साउन २१ गते बिहीबार

गोरखामा सहुलियत ऋणका लागि संघ र एनआईएमबी बैंकबीच सम्झौता

गोरखामा सहुलियत ऋणका लागि संघ र एनआईएमबी बैंकबीच सम्झौता

विराज त्रिपाठी

@Public 4K Tv

२०८२ भदौ ३१ गते मंगलबार ०७:५५

सम्झौताअनुसार व्यवसाय कर्जा, घर कर्जा, सवारी कर्जा, व्यक्तिगत कर्जा, शेयर कर्जा र शैक्षिक कर्जा गरी ६ प्रकारका सहुलियत ऋण उपलब्ध हुनेछन् ।

गोरखा ।

गोरखामा व्यवसाय गर्न चाहने तथा गरिरहेका व्यवसायीहरुलाई सहुलियत ऋण उपलब्ध गराउन गोरखा उद्योग वाणिज्य संघ र एनआईएमबी बैंकबीच सम्झौता भएको छ ।

सो सम्झौता सदरमुकाममा मंगलबार सम्पन्न कार्यक्रममा संघका अध्यक्ष भगवानबावु मास्के र बैंकका गोरखा शाखा प्रमुख मिलन सिंह बस्नेतले हस्ताक्षर गरेका हुन् ।

संघले पत्रकार सम्मेलन गर्दै सम्झौताअनुसार संघमा आबद्ध व्यवसायीहरुले संघको सिफारिसमा सहुलियत ऋण लिन सक्ने जानकारी गराएको छ । अध्यक्ष मास्केका अनुसार यसले गोरखाका व्यवसायीलाई व्यापार–व्यवसाय थप सहज बनाउन मद्दत गर्नेछ ।

सम्झौताअनुसार व्यवसाय कर्जा, घर कर्जा, सवारी कर्जा, व्यक्तिगत कर्जा, शेयर कर्जा र शैक्षिक कर्जा गरी ६ प्रकारका सहुलियत ऋण उपलब्ध हुनेछन् । सामान्य ऋणीले पाउने भन्दा ०।५ देखि ३ प्रतिशतसम्म कम व्याजदरमा लगानी हुने र सेवा शुल्कमा समेत छुट दिइने शाखा प्रमुख बस्नेतले बताए ।

उनका अनुसार व्यवसायीहरुले ५० हजारदेखि २५ करोडसम्म ऋण लिन सक्नेछन् भने सम्पूर्ण कागजपत्र पुरा भएमा ७ देखि १० दिनभित्र ऋण प्रवाह गरिनेछ ।

कार्यक्रममा पूर्व अध्यक्ष शित्तलकाजी मास्के, ईश्वरकाजी मास्के, रामबावु जोशी, निर्वतमान अध्यक्ष कृण्णकुमार श्रेष्ठसहित संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०८२ भदौ ३१ गते मंगलबार ०७:५५
हजुरको प्रतिक्रिया