पोखरा।
पोखरा महानगरपालिका-१४, चाउथेमा दुई वटा घरमा भएको चोरीको घटनामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले चोरीका सामानसहित अभियुक्तलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, गत साउन २४ गते साँझ ७ बजेतिर चाउथेमा दुई घरमा कोही नभएको मौका छोपी सुनचाँदीका गरगहना र नगदसहितका सामाग्री चोरी भएको थियो।
घटनाको सूचनापछि सुरु गरिएको अनुसन्धानको क्रममा रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ९ स्थायी घर भई हाल पोखरा-१४, चाउथेमा बस्दै आएका ३१ वर्षीय मोती गुरुङको घरबाट चोरी भएका सामाग्री फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद सामग्रीमा छड्के तिलहरी १ थान, माइली तिलहरी (रातो पोतेसहित) २ थान, जन्तर (रातो गेडीसहित) १ थान, मिनिहार १ थान, बाला ३ थान, चन्द्रमा २ थान झुम्का २ थान, बंगाली टप २ थान तथा बंगाली औंठी १ थान रहेका छन्।
यस्तै चोरीमा प्रयोग भएको सामग्रीमा हेक्सा ब्लेड ४ थान, फलामको छिनो १ थान, फलामको रड १ थान, चरेश सेवनका लागि प्रयोग हुने थाल २ थान, तामाको पाला (दियो) ४ थान तथा मोबाइल फोन १ थान रहेका छन्।
योसँगै रुपैयाँ पनि चोरी भएको थियो।
प्रहरीले पक्राउ गरेका मोती गुरुङलाई कास्की जिल्ला अदालतबाट चोरीसम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
चोरीका अन्य सम्भावित संलग्न व्यक्तिहरूबारे अनुसन्धान जारी रहेको र कानूनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रकाशित मिति २०८२ असोज ३ गते शुक्रबार ०१:१७




