पोखरा ।
भदौ २३ र २४ गते आयोजित जेने–जी आन्दोलनका क्रममा पोखरा–६ बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा तोडफोड र आगजनी हुँदा व्यवसायीहरू आक्रोशित बनेका छन् ।
इभेन्ट सेन्टरले जारी गरेको विज्ञप्तिमा आन्दोलनकारी युवाहरूले तोडफोड गर्दा भवन, संरचना, विद्युत प्रणाली लगायत भौतिक सम्पत्ति नष्ट हुनुका साथै दैनिक क्रियाकलाप अवरुद्ध भएको उल्लेख छ । घटनाका कारण सयौँ स्थानीय र परदेशी नेपाली रोजगारी गुमाउन बाध्य भएको विज्ञप्तिमा जनाइएको छ ।
व्यवसायीहरूले आन्दोलन शान्तिपूर्ण नभई ‘संगठित आपराधिक गतिविधि’को स्वरूप लिएको भन्दै सरकारसँग तत्काल दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् । इभेन्ट सेन्टर परिवारले भनेको छ, “यो घटनाले केवल हाम्रो निजी व्यवसाय मात्र होइन, सम्पूर्ण पोखराको पर्यटन क्षेत्रलाई ठूलो धक्का पु¥याएको छ ।”
पोखरा इभेन्ट सेन्टरले स्थापना कालदेखि नै अन्तर्राष्ट्रिय स्तरका सांस्कृतिक तथा व्यापारिक कार्यक्रम आयोजना गर्दै पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय उत्पादनलाई बजार विस्तार गर्ने काम गर्दै आएको थियो । विज्ञप्तिमा भनिएको छ, “यस सेन्टरले हरेक वर्ष नेपालमै हजारौँ पर्यटक भित्र्याउने काम गरेको थियो तर अराजक तोडफोडले यसलाई ठप्प तुल्याएको छ ।”
गत भदौ २४ गते आन्दोलनका नाममा आएको भीडले सेन्टरमा आक्रमण गरी ठूलो मात्रामा क्षति पुर्याएको थियो । व्यवसायीहरूले यस घटनालाई ‘नेपालकै पर्यटन प्रवद्र्धनको सपना माथि प्रहार’को संज्ञा दिएका छन् ।
इभेन्ट सेन्टरका अध्यक्ष रामचन्द्र पौडेल, निर्देशक राजेन्द्रकुमार बज्राचार्य, लक्षण अधिकारी, टिकाकान्त अर्याल र शिवराम आचार्यले संयुक्त हस्ताक्षरसहित जारी गरिएको विज्ञप्तिमा आन्दोलनकारीलाई आर्थिक, सामाजिक तथा कानुनी दृष्टिले कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
व्यवसायीहरूले भनेका छन्, “विदेशी लगानी भित्र्याउने, रोजगारी सिर्जना गर्ने, स्थानीय सीप प्रवद्र्धन गर्ने यस्ता संस्थामाथि आक्रमण हुनु केवल संस्थाको मात्र नभई देशकै भविष्य माथिको प्रहार हो ।” पोखरा ईभेन्ट सेन्टरले जेनजी आन्दोलनको क्रममा आफ्नो भवन सहित निजी क्षेत्रका प्रतिष्ठानहरुमा आगजनी र तोडफोड भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । सेन्टरले प्रेस विज्ञप्ति प्रकाशित गरी आन्दोलनको वहानामा निहित स्वार्थ र आपराधिक मनोवृति बोकेका घुसपैठी गिरोहले आगजनी र तोडफोड गरेको भन्दै ध्यानाकर्षण गरेको हो ।
प्रकाशित मिति २०८२ असोज ३ गते शुक्रबार ०२:५२




