गोरखा ।
बडादसैँ अन्तर्गत आज फूलपाती पर्वको अवसरमा गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपाती पठाइएको छ ।
शुभसाइत बिहान ७ः३० बजे दरबारका सुसारेहरूले विधिपूर्वक पूजा–अर्चना गरी फूलपातीसहितको डोली सरकारी गाडी (बा २ झ ३८८२) मार्फत पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए ।
यसअघि गोरखा दरबारको दसैँघर देखि बाजागाजासहितको ¥याली निकालेर फूलपातीको विदाइ गरिएको थियो ।
गोरखाकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईका अनुसार, गोरखाबाट पठाइएको फूलपाती आजै साँझ हर्षोल्लासका साथ हनुमान ढोका दरबारमा भित्र्याइने परम्परा रहेको छ ।
हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट पठाइएको फूलपाती भित्र्याउने परम्परा छ ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमा हनुमान ढोका दरबारबाट राजकाज सुरु गरेपछि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपाती पठाउने चलन सुरु भएको मानिन्छ ।
बिगतमा गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ६ जना ब्राह्मणले ल्याउने परम्परा रहेको भएता पनि २०४६ साल यता सवारी साधनबाट नै गोरखाबाट हनुमान ढोकाकोलागि फुलपाती पठाउने गरीएको गोरखा दरर्बार हेरचाह अडाका प्रमुख विष्णु प्रसाद पाठकले बताए ।
गोरखाबाट जमल पुगेको फुलपातीलाई हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती लगिने गरिन्छ ।
यस वर्षको फूलपाती आज ४ः३० बजे भित्र्याइने कार्यक्रम छ ।
गोरखा दरबारको दसैँघरमा पनि आज साँझ हर्ष बढाइका साथ फूलपाती भित्र्याइनेछ ।





