गोरखा ।
गोरखामा यो वर्ष डेंगुभन्दा स्क्रब टाईफसका संक्रमित बढी फेला परेका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार साउन यता जिल्लामा २१४ जनामा संक्रमण देखिएकोमा १५० जनामा स्क्रब टाईफस र ६४ जनामा डेंगु पुष्टि भएको छ।
११ स्थानीय तह रहेको गोरखामा ६ स्थानीय तहमा दुवै रोगका बिरामी भेटिएको कार्यालयका ल्याब टेक्निसियन निरीक्षक नारायणबावु अर्यालले जानकारी दिए।
सबैभन्दा धेरै गोरखा नगरपालिकामा स्क्रब टाईफसका ५९ र डेंगुका १५ बिरामी भेटिएका छन्।
त्यस्तै, आरुघाट गाउँपालिकामा दुवै रोगका १५÷१५ जना संक्रमित फेला परेका छन्। भिमसेन थापा गाउँपालिकामा १६ जना डेंगु र ४२ जना स्क्रब टाईफसका बिरामी भेटिएका छन्।
यस्तै, पालुङटार नगरपालिकामा ८ जना डेंगु र ३० जना स्क्रब टाईफस, शहिद लखन गाउँपालिकामा ७ जना डेंगु र ३ जना स्क्रब टाईफस तथा अजिरकोट गाउँपालिकामा ३ जना डेंगु र १ जना स्क्रब टाईफसका बिरामी देखिएको तथ्यांकमा उल्लेख छ।
डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट र स्क्रब टाईफस माइट जातका किर्नाको टोकाइबाट सर्ने गर्छ। चिकित्सकहरुले यो संक्रमण कार्तिकको अन्त्यसम्म बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।
प्रकाशित मिति २०८२ असोज १३ गते सोमबार ०५:४२




