काठमाडौं ।
नेपाली काँग्रेसका विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरुले पार्टी महाधिवेशन अविलम्व हुनुपर्ने माग गरेका छन् ।
आईतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हस्ताक्षर पक्षधरहरुले यस्तो माग गरेका हुन् । उनीहरुले केन्द्रिय समितिले बैठक अस्वभाविक रुपमा लम्ब्याएको आरोप लगाएका छन् ।
महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले केन्द्रिय समितिको बैठक अनिश्चित देखिनुले पदाधिकारीहरुसहित केन्द्रिय समितिको मनशाय महाधिवेशन नगर्ने र आफ्नो म्याद थप्नेतर्फ उद्यत रहेको देखिएको बताए ।
वर्तमान केन्द्रिय समितिको यस्तो प्रवृत्ति आपत्तिजनक रहेको उनले बताए । कुनैपनि कारण देखाएर महाधिवेशन प्रतिनिधिहरुको अवमूल्यन गर्ने र महाधिवेशन टार्ने कार्य स्वीकार्य नहुने उनले बताए ।
पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएको केन्द्रिय समितिको असफलताको मानक नेपाली राजनीतिमा भएका घटनाहरुले पुष्टि गरेको उनको जिकिर छ ।
केन्द्रिय कार्यसमितिले आफ्नो म्याद थपरेर पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसकेको उनले टिप्पणी गरे । आगामी निर्वाचनमा जानुपर्ने आवश्यकता महशुस गरी विशेष महाधिवेशन माग गरिएको उनले स्पष्ट पारे ।
साथै उनले आफूहरुको मागप्रति गम्भीर रही महाधिवेशनतर्फ अग्रसर हुन पनि सचेत गराएका छन् । आगामी मंसिरभित्र विधिवत महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन आजको आवश्यकता भएको उनको भनाइ छ ।
केन्द्रिय कार्य समिति पार्टीको मूल जिम्मेवारीबाट भाग्न खोजेको र बरालिएको महशुस आफूहरुले गरेको उनले बताए ।
विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष, स्वभाविक आवश्यकताको रुपमा महशुस गरी कार्यान्वयनतर्फ अघि बढ्न पनि उनको माग छ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य गुरु घिमिरेले भदौ २३ र २४ का तोडफोड, आगजनीका उग्र क्रियाकलापका पक्षधर आफूहरु नभएको बताए ।
उनले आगजनी र तोडफोड, लुटपाटका क्रियाकलापहरु निन्दनीय रहेको बताए । मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्ने उनको भनाइ छ ।
उनका अनुसार २०४६ साल यता नेतृत्व गर्दा र जनताले बारम्बार दिएको जिम्मेवारी, हरेक निर्वाचनमा प्राप्त गरेको समर्थनलाई दृष्टिगत गर्दा हामीबाट पनि कमजोरी भएको कुरा महशुस गर्न जरुरी छ ।
उनले भने, ‘भदौ २३ र २४ का घटनाहरुले हामीलाई सधैँ बिझाइरहनेछ । तोडफोड, आगजनीका उग्र क्रियाकलापका पक्षधर हामी होइनौँ । ति क्रियाकलापहरु निन्दनिय छन् । त्यो घटनाले विश्व राजनीतिमा मानक खडा गरेको छ । अब कसरी जाने भन्ने छलफल गरेका छौँ । मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्छ । नेतृत्व बदल्नैपर्छ । २०४६ साल यता नेतृत्व गर्दा र जनताले बारम्बार दिएको जिम्मेवारी, हरेक निर्वाचनमा प्राप्त गरेको समर्थनलाई दृष्टिगत गर्दा हामीबाट पनि कमजोरी भयो की ? यो भदौ २३ र २४ को घटनासम्म आइपुग्दा हाम्रा यि कमजोरीहरु कारक छन् की ।’
गत असोज २९ गते नेपाली काँग्रेसका केन्द्रिय कार्यालयमा पुगेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई १४ औं महाधिवेशनका २ हजार ४ स्य ८८ प्रतिनिधिहरुले हस्ताक्षरसहितको निवेदन बुझाएका थिए ।
बदलिँदो राजनीतिक परिवेशलाई आत्मसाथ गर्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुले पार्टीको विधानको धारा १७(२) बमोजिम महाधवेशनको माग गरेको बताएका छन् ।
प्रकाशित मिति २०८२ कात्तिक ३ गते आइतबार १०:३२




