२०८३ साउन २१ गते बिहीबार

बेलायत–नेपाल इन्टरनेशनल स्किल्स पार्टनरशिपलाई ग्लोबल अवार्ड

बेलायत–नेपाल इन्टरनेशनल स्किल्स पार्टनरशिपलाई ग्लोबल अवार्ड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक २८ गते बिहीबार ०१:०९

लन्डन । यूके–नेपाल इन्टरनेशनल स्किल्स पार्टनरशिप ले ब्रिटिश काउन्सिलको “गोइङ ग्लोबल पार्टनरशिप्स अवार्ड २०२५” जित्दै विश्वका पाँच उत्कृष्ट परियोजना मध्ये स्थान पाएको छ। उक्त अवार्ड गोइङ ग्लोबल २०२५ सम्मेलनमा लन्डनमा घोषणा...

लन्डन ।

यूके–नेपाल इन्टरनेशनल स्किल्स पार्टनरशिप ले ब्रिटिश काउन्सिलको “गोइङ ग्लोबल पार्टनरशिप्स अवार्ड २०२५” जित्दै विश्वका पाँच उत्कृष्ट परियोजना मध्ये स्थान पाएको छ। उक्त अवार्ड गोइङ ग्लोबल २०२५ सम्मेलनमा लन्डनमा घोषणा गरिएको हो।

नेपालका तर्फबाट शिक्षा सचिव चूडामणि पौडेलले अवार्ड ग्रहण गरेका छन् । उक्त साझेदारीमा युकेका चार संस्था र नेपालका विभिन्न सार्वजनिक तथा निजी क्षेत्रका संस्थाहरु — नेपाल उद्योग वाणिज्य महासङ्घ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सहित संलग्न रहेका छन्।

ब्रिटिश काउन्सिलको सहयोगमा सञ्चालन भइरहेको यो साझेदारीले नेपालमा हरित सीपको अभाव पुरा गर्न सार्वजनिक–निजी क्षेत्रबीचको सहकार्यलाई सुदृढ पार्ने काम गरिरहेको छ। यस अन्तर्गत नेपाल सरकारले गठन गरेको ग्रीन स्किल्स एडभाइजरी बोर्ड लाई पनि सहयोग गरिएको छ।

उक्त बोर्डमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सीटीईभिटी, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसङ्घ र नेपाल ठेकेदार महासङ्घका प्रतिनिधिहरू छन्।

ग्रीन स्किल्स एडभाइजरी बोर्ड अहिले दिगो र समावेशी शिक्षालाई प्रोत्साहन गर्दै हरित रोजगारीका अवसरहरू विस्तार गर्न सक्रिय छ।

अवार्ड ग्रहणपछि सचिव पौडेलले अवार्डले यूके र नेपालका विभिन्न संस्थाबीचको उत्कृष्ट साझेदारीलाई सम्मान गरेको भन्दै नेपालमा अत्यावश्यक हरित सीप विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

ब्रिटिश काउन्सिल नेपालका देश निर्देशक रुस्तम मोडीले भने “यो उपलब्धिले नेपालको हरित सीप एजेन्डा अगाडि बढाउन सार्वजनिक र निजी क्षेत्रबीचको सहकार्यको शक्ति देखाउँछ। यस साझेदारीमार्फत हामी नेपाल सरकारको दिगो, समावेशी र भविष्यमुखी जनशक्ति विकासको दृष्टिकोणलाई सहयोग गर्न पाउँदा गर्व गर्छौं।”

अवार्ड ब्रिटिश काउन्सिलकी डेपुटी चिफ एक्जिक्युटिभ केट इवार्ट–बिग्स र ग्लोबल डायरेक्टर अफ एजुकेशन म्याडालाइन एन्सेलले प्रदान गरेका थिए । उनीहरूले विजेता परियोजनाहरूले शिक्षा क्षेत्रमा पारेको प्रभाव र दिगो विकासप्रति योगदानको प्रशंसा गरे।

यस वर्षका अन्य विजेता साझेदारीहरू पाकिस्तान, चीन, इजिप्ट र नाइजेरियाका थिए।

ब्रिटिश काउन्सिलद्वारा वित्तपोषित ‘गोइङ ग्लोबल पार्टनरशिप्स’ कार्यक्रमले विश्वविद्यालय, कलेज तथा प्राविधिक–व्यावसायिक संस्थाहरूबीच समानता, समावेशिता र अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धन गर्छ।

प्रकाशित मिति २०८२ कात्तिक २८ गते बिहीबार ०१:०९
हजुरको प्रतिक्रिया