बागलुङ
मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सम्पन्न गर्नका लागि संचालन गरिएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञबाट रुख ९ करोड ७० लाख संकलन भएको छ ।
बागलुङ नगरपालिका–४ नियरघाटमा गत कात्तिक २१ गतेदेखि महायज्ञ सुरु भएको थियो ।
प्रतिबद्धता गरेको रकम भने आउने क्रम जारी रहेको महायज्ञ मूल आयोजक समितिका कोषध्यक्ष सरिता गौतमले जानकारी दिए । सहयोग रकम निरन्तर आउनेक्रम रहेको उनको भनाइ छ ।
महायज्ञ कात्तिक २८ गते सम्पन्न गर्ने भनिए पनि एक दिन थप गरेर २९ गतेसम्म संचालन गरिएको हो । असहाय, अपाङ्ग, मानसिक रोगी तथा घरबारजिवहीन सडक मानवको पुनस्र्थापनाका लागि निर्माणाधीन आश्रमको भवनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा दाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
देश–विदेशमा रहेका बागलुङवासी, संघ–संस्था तथा सहयोगी व्यक्तिहरूले नगद, क्युआर कोड र अन्य माध्यममार्फत सहयोग प्रदान गरेको गौतमले बताए ।
दुई सय जना सहयोगापेक्षीलाई सेवा प्रदान गर्न सकिने भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले महायज्ञ संचालन गरिएको गौतम बताउँछन् ।
भवन निर्माणका लागि हालसम्म ५ करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै रु.४ करोड आवश्यक रहेको उनको भनाइ छ । मानवसेवा आश्रम बागलुङले साविक धौलागिरी अञ्चललाई कार्यक्षेत्र बनाएको छ ।
बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतसहित देशका विभिन्न स्थान तथा भारतीय नागरिक पनि अहिले आश्रममा आश्रय लिइरहेका छन् ।
हाल आश्रममा ६४ जना सहयोगापेक्षीले आश्रय लिइरहेका छन् । उनीहरूको पालनपोषण र रेखदेखमा मासिक १० लाख भन्दा बढी खर्च हुने गरेको छ ।
महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले कथावाचन गरेका थिए । कथावाचन, भजनकिर्तनसँगै गरिएको थियो भने मनको व्यवस्थापन, सकारात्मक सोच र मानवता प्रर्वद्धनका कार्यक्रम सञ्चालन गरिने छ ।
प्रकाशित मिति २०८२ मंसिर १ गते आइतबार ०८:०८




