२०८३ साउन २१ गते बिहीबार

संवैधानिक राजसंस्था स्थापना नगरे नेपालको राष्ट्रिय अस्तित्व नै संकटमा पर्छः महामन्त्री राणा

संवैधानिक राजसंस्था स्थापना नगरे नेपालको राष्ट्रिय अस्तित्व नै संकटमा पर्छः महामन्त्री राणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ३ गते मंगलबार ०२:१८

मुलुकको विद्यमान सामाजिक तथा राजनीतिक समस्या हल गर्ने एकमात्र विकल्प संवैधानिक राजसंस्था भएको जिकिर उनले गरे ।
विगतमा समेत राजाले नै मुलुकलाई एकतामा बाँधेर अभिभावकीय भूमिका खेलेको भन्दै संवैधानिक राजसंस्थासँगै हिन्दुराष्ट्रय कायम गर्नुपर्ने उनले बताए ।

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवलशमशेर राणाले संवैधानिक राजसंस्था स्थापना नगरे नेपालको राष्ट्रिय अस्तित्व नै संकटमा पर्ने टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा ‘जेन–जेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको गोलमेच कार्यक्रममा बोल्दै महामन्त्री राणाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले विश्वका कतिपय विकसित देशहरूले समेत राजसंस्थालाई कायमै राखेको उदाहरण दिँदै नेपालमा पनि संवैधानिक राजसंस्था अपरिहार्य रहेको तर्क गरे ।

मुलुकको विद्यमान सामाजिक तथा राजनीतिक समस्या हल गर्ने एकमात्र विकल्प संवैधानिक राजसंस्था भएको जिकिर उनले गरे ।

विगतमा समेत राजाले नै मुलुकलाई एकतामा बाँधेर अभिभावकीय भूमिका खेलेको भन्दै संवैधानिक राजसंस्थासँगै हिन्दुराष्ट्रय कायम गर्नुपर्ने उनले बताए ।

महामन्त्री जबराले भने, ‘१९ वटा विकसित देशहरुमध्ये आजपनि ११ वटा देशमा अहिले पनि विभिन्न प्रकारका राजसंस्थाहरु आजको दिनमा पनि विद्यमान छन् । हाम्रो यहाँ २१औँ शताब्दीमा पनि राजाको कुरा गरे भनेर नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ । ती ११ वटा विकसित प्रजातान्त्रिक देशहरु आजको दिनमा पनि कुनै न कुनै रुपमा राजालाई किन राखिरहेका छन् त ? बेलायको राजालाई अष्टे«लिया र क्यानडामा समेत मान्छन् । के त्यहाँका जनताले आफ्नै राष्ट्रपति राख्न सक्थेनन् ? जापान जस्तो विकसित देशमा आजपनि राजा राखेका छन् । खाडी मुलुकहरुमा आज पनि राजा राखेका छन् । हाम्रो देशमा अहिलेको लागि उचित भनेको संवैधानिक राजसंस्था नै हो । नेपालीका छोराले राजनीति गर्ने हो । राजसंस्थालाई राजनीतिमा तान्न खराबी हुदैन । यो कुरा राजाले पनि बुझेको छ र हामीले पनि भन्दै आएका छौं । विगतमा राजाले देशको लागि एक अभिभावकीय भूमिका खेल्दै आउनुभएको हो । त्यसकारण राजसंस्थाबिना यो देश अगाडि बढ्न सक्दैन । यदि संवैधानकि राजसंस्था नल्याउने हो भने देशको अस्तित्व नै नरहने स्थिति छ ।’

उनले नेपाललाई हिन्दु राष्ट्र घोषणासँगै संवैधानिक राजसंस्था स्थापनाको एजेण्डामा अडिग रहन अलायन्सलाई आग्रह समेत गरे ।

प्रकाशित मिति २०८२ मंसिर ३ गते मंगलबार ०२:१८
हजुरको प्रतिक्रिया