नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मुख्य जिम्मेवारीमा आफ्नो ‘कोर टीम’ मा रहेका नेतालाई राखेका छन्। भक्तपुरमा मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटी बैठका निर्णय सार्वजनिक गर्दै जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानी) मा सबैको जिम्मेवारी तोकिएको छ। जिम्मेवारी तोक्ने क्रममा उनले आफूसँग सबैभन्दा नजिक रहेकालाई मुख्य भूमिका दिएका छन्। पूर्व माओवादी पक्षधर नेतालाई पनि उनले महत्वपूर्ण जिम्मेवारी दिएर वरीयतामा माथि राखेका छन्। तर पूर्व माधव नेपाल पक्षधरलाई भने उनले सक्रिय हुने जिम्मेवारी दिएका छैनन्।
ओलीले आफ्नो जिम्मेवारी पार्टीको समग्र नेतृत्व गर्ने राखेका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख बनाएका छन्। उपाध्यक्षहरूलाई संयोजनको जिम्मेवारी दिएका छन्। युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह, अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय, रामबहादुर थापालाई कुटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा, विष्णु पौडेललाई पार्टीको सांगठनिक कामको अनुगमन, सुवास नेम्वाङलाई संसदीय मामिला र सुरेन्द्र पाण्डेलाई राजकीय मामिला संयोजन गर्ने जिम्मेवारी दिएका छन्। महासचिव शंकर पोखेरलले पार्टीको सांगठनिक कामको संयोजनको जिम्मेवारी पाएका छन्।
पार्टीमा महत्वपूर्ण मानिने स्कुल विभागको जिम्मेवारी उपमहासचिव प्रदिप ज्ञवालीलाई परेको छ भने प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी पृथ्वी सुब्बा गुरूङले पाएका छन्। अर्का उपमहासचिव विष्णु रिमालले दुई वटा मुख्य जिम्मेवारी पाएका छन्। उनलाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको प्रमुख बनाइएको छ। पार्टी सचिव टोपबहादुर रायमाझीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको प्रमुख पाएका छन् भने यससँग सम्बद्ध संगठनको उनी इन्चार्ज बनेका छन्। अर्का सचिव लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको इन्चार्ज पाएका छन्। सचिव गोकर्ण विष्ट उर्जा, जलश्रोत तथा सिँचाई विभागको इन्चार्ज बनेका छन्। उनी यसअघि मोर्चा विभाग प्रमुख थिए।
अर्का सचिव योगेश भट्टराई स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख बनेका छन्। यसअघि उनी प्रचार प्रसार विभाग प्रमुख थिए। अर्का सचिव छविलाल विश्वकर्माले लुम्बिनी प्रदेशको ईन्चार्जको जिम्मेवारी पाएका छन्। सचिव रघुबिर महासेठ प्रदेश २ को इन्चार्ज बनेका छन् भने पद्मा अर्याल गण्डकी प्रदेश इन्चार्ज बनेकी छन्। पार्टीमा महत्वपूर्ण मानिने संगठन विभागको इन्चार्ज स्थायी कमिटी सदस्य खगराज अधिकारीले पाएका छन्। नवौं महाधिवेशपछि एमालेमा संगठन विभागको जिम्मेवारीमा विष्णु पौडेल थिए। स्थायी कमिटी सदस्य देवराज घिमिरेले प्रदेश १ को इन्चार्जको जिम्मेवारी पाएका छन्। अर्का स्थायी कमिटी सदस्य काँशीनाथ अधिकारी बागमती इन्चार्ज बनेका छन्। स्थायी कमिटी सदस्य यमलाल कँडेल कर्णाली इन्चार्ज बनेका छन्। महत्वपुर्ण मानिने परराष्ट्र मामिला विभागको जिम्मेवारी राजन भट्टराईलाई परेको छ। स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फे संसदीय विभागको प्रमुख बनेकी छन्।
यसपटक पार्टीको जिम्मेवारीमा सबैभन्दा बढी उपाध्यक्षलाई खुम्च्याइएको छ। उनीहरूलाई पार्टीका विभिन्न विभागको संयोजन गर्ने जिम्मेवारी मात्रै दिइएको छ। नवौं महाधिवेशनपछि उपाध्यक्षले भूगोलको समेत जिम्मेवारी सम्हालेका थिए। ‘यस पटक उपाध्यक्षलाईसमेत भूमिकाविहिन बनाइएको छ। संयोजन गर्ने जिम्मेवारी दिनु भनेको भूमिका दिइनु होइन,’ एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भने, ‘पार्टी अध्यक्षले उपाध्यक्षलाई त त्यो हालतमा पुर्याइदिनुभयो भने हाम्रो त के कुरा गर्ने। यो ओली शासन हो। यहाँ मागेर लिने होइन कि, दिएको लिने हो।’
प्रकाशित मिति २०७८ पुस २ गते शुक्रबार १२:२४




