२०८३ साउन २१ गते बिहीबार

स्वास्थ्यमन्त्रीलाई प्रदीप पौडेलको आग्रहः ‘अघिल्लो सरकारले गरेका सुधारात्मक कार्यहरूलाई निरन्तरता दिनुस्’

स्वास्थ्यमन्त्रीलाई प्रदीप पौडेलको आग्रहः ‘अघिल्लो सरकारले गरेका सुधारात्मक कार्यहरूलाई निरन्तरता दिनुस्’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ११ गते बुधबार ०५:४०

पौडेलले आफूले केही नयाँ कार्यक्रम शुरु गर्ने, पुराना प्रभावकारी कामलाई निरन्तरता दिने र संरचनात्मक सुधारहरु अघि बढाउने प्रयास गरेको बताए । उनले धेरै कामहरु ९० प्रतिशतसम्म सकिएपनि थोरै बाँकी रहेका कारण धेरै काम पूर्णता पाउन नसकेको बताए । उनकाअनुसार मन्त्रालयबाट ७ वटा विधेयक तयार भएका थिए । तीमध्ये संगठित क्षेत्रलाई सम्पूर्ण रुपमा विमामा आवद्ध गर्ने सम्बन्धी विधेयक भदौ २५ गतेका लागि संसदको कार्यसूचिमै समावेश भइसकेको थियो ।

काठमाडौं ।

पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली काँग्रेस नेता प्रदीप पौडेलले आफूले मन्त्री हुँदा अगाडि बढाएका स्वास्थ्य क्षेत्रका सुधारात्मक कार्यहरूलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

वर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमलाई बुधबार मन्त्रालयमा भेटेर पूर्वमन्त्री पौडेलले बीमा कार्यक्रम, जनशक्ति व्यवस्थापनदेखि औषधि मूल्य निर्धारणका प्रक्रियालाई अगाडि बढाउन आग्रह गरेका हुन् ।

पौडेलले आफूले केही नयाँ कार्यक्रम शुरु गर्ने, पुराना प्रभावकारी कामलाई निरन्तरता दिने र संरचनात्मक सुधारहरु अघि बढाउने प्रयास गरेको बताए । उनले धेरै कामहरु ९० प्रतिशतसम्म सकिएपनि थोरै बाँकी रहेका कारण धेरै काम पूर्णता पाउन नसकेको बताए ।

उनकाअनुसार मन्त्रालयबाट ७ वटा विधेयक तयार भएका थिए । तीमध्ये संगठित क्षेत्रलाई सम्पूर्ण रुपमा विमामा आवद्ध गर्ने सम्बन्धी विधेयक भदौ २५ गतेका लागि संसदको कार्यसूचिमै समावेश भइसकेको थियो ।

उनले संगठित क्षेत्रलाई पूर्ण रूपमा स्वास्थ्य बीमामा आवद्ध गर्ने योजनालाई सरकारले निरन्तरता दिनुपर्नेमा जोड दिए ।

उनकाअनुसार बीमामा सरकारबाट १० अर्ब र प्रिमियमबाट ४ अर्ब गरी कुल १४ अर्ब आम्दानी हुने संरचना तयार गरिएको थियो ।

स्वास्थ्य बीमामा प्रदान गरिने उपचार रकम १ लाखबाट २ लाख पु¥याइएको उल्लेख गर्दै उनले संगठित क्षेत्र समावेश भएमा वार्षिक १ खर्बभन्दा बढी राजस्व उत्पन्न हुने दाबी गरे ।

१ खर्ब आम्दानी हुँदा आवश्यक व्यक्तिलाई ५ लाख उपचार रकम दिन गाह्रो नहुने उनको भनाई छ । साथै उनले ५ लाखको कार्यक्रम अगाडि सारेको समेत स्मरण गराए ।

पूर्व मन्त्री पौडेलले प्रसूति सेवा तथा मातृस्वास्थ्यसँग संवद्ध ओएनएम सम्बन्धी प्रश्ताव अर्थ मन्त्रालयमा पठाएकोले त्यसलाई अगाडी बढाउन आग्रह गरे ।

८ सयभन्दा बढी चिकित्सक र १४ सय नर्सको रिक्त दरबन्दी पूर्ति गर्न खुला विज्ञापन निकाल्ने तयारी मन्त्रालयले गरेकोले ती प्रक्रियालाई पनि अगाडि बढाउन उनले मन्त्री गौतमलाई आग्रह गरे ।

जेन—जी आन्दोलनका क्रममा मन्त्रालयमा भएको आगजनीका कारण महत्वपूर्ण कागजात नष्ट भएको भएपनि ती फाइलहरूको डिजिटल प्रतिलिपि सुरक्षित रहेकोले अधुरा रहेका कामलाई अगाडी बढाउन उनले आग्रह गरे ।

उनले औषधिको मुल्य निर्धारणसम्बन्धी रिर्पोट मन्त्रीपरिषद्मा पेश गर्न बाँकी रहेकाले त्यसलाई पनि अगाडी बढाउन आग्रह गरे ।

प्रयोग नभएका पूर्वाधार प्रयोगमा ल्याउन, सातै प्रदेशमा क्यान्सर, मुटु र जलनको सेवा विस्तारलाई निरन्तरता दिन, हेलो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन, निर्माण सकिएका सबै अस्पताल सञ्चालन ल्याउन पनि उनले सुझाव दिए ।

उनले भने, ‘खासगरि हामीले मन्त्रालयमा आईसकेपछि केही कुराहरको सुधार अगाडी बढाएका थियौँ । केही नयाँ कुरालाई शुरुवात गर्ने कोशिस गरेका थियौँ । केही राम्रा पुराना कुराहरुलाई निरन्तरता दिने प्रयत्न पनि हाम्रो थियो । हामीले धेरै कुराहरु ९० प्रतिशत गरिसकेको स्थिति थियो । थोरै बाँकी रहेर धेरै कुराहरुलाई हामीले पुर्णता दिन सकेनौँ । हामीले विधेयकहरु मात्रै मन्त्रालयबाट ७ वटा काम सकेर अन्यत्र पठाएको स्थिति थियो । भदौ २५ गतेको संसदको कार्यसूचिमा परिसकेको थियो । संगठित क्षेत्रलाई सम्पूर्ण रुपमा विमामा आवद्ध गर्ने । आज बीमाको आम्दानी सरकारले दिने १० अर्ब, प्रिमियमबाट जम्मा हुने ४ अरब गरेर १४ अर्ब बीमाको कुल आम्दानी हो । पहिले एक लाख रुपैयाँ दिइन्थ्यो । हामी आइसकेपछि त्यसलाई दुई लाख बनाइएको छ । १४ अर्बबाट दुई लाख दिने अवस्था बन्छ भने संगठित क्षेत्रलाई विमामा जोड्दा १ वर्षमा १ खर्ब भन्दा बढी आम्दानी हुने स्थिति हुन्छ । १ खर्व आम्दानी हुँदा चाहिनेलाई ५ लाख दिन केही गाह्रो थिएन । हामीले ५ लाखको कार्यक्रमलाई अगाडी सारेका थियौँ । तर हामीले कामहरु अगाडी बढाईरहेर संसदमा २५ गतेको संसदको कार्यसुचीमा त्यो प्रवेश गरेको थियो । तर हामी भदौ २५ गतेसम्म रहने स्थिस्ति भएन । त्यस्तै हामीले ओएनएमको कुरा पनि अर्थमन्त्रालयलाई हामीलाई दुई पटक ओएनएमको प्रस्ताव पठाइसकेका थियौँ । दुई पटक नै अर्थमन्त्रालयले केही अस्पष्टताहरु स्पष्ट पारियोस् भनेर पठाएको थियो । हामीले तेस्रो पटक अस्पष्टताहरु स्पष्ट पारेर पठाएका थियौँ । हामीले असोज महिनामा लोक सेवाले जाँच लिँदै गर्दा ८ सय भन्दा बढी डाक्टरको खुला विज्ञापन गर्ने स्थिति निर्माण गर्न खोजेका थियौँ । १३÷१४ सय भन्दा बढी नर्सको खुला विज्ञापन गर्न खोजेका थियौँ । म माननीय मन्त्रीज्युलाई आग्रह गर्न चाहन्छु, ती कुराहरु अगाडी बढाइदिनुस् । ती कुराहरुले नेपालको स्वास्थ्य क्षेत्रमा एकदमै ठूलो उत्साह सिर्जना गर्छ ।’

त्यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले राम्रा कामहरुलाई मन्त्रालयले निरन्तरता दिने बताइन् । उनले यो सरकार जेनजीको भावना अनुरुप बनेकोले उनीहरुको भावनाअनुरुप भ्रष्टाचार निर्मूल गर्नेगरी काम गरिरहेको बताइन् ।

खासगरी भ्रष्टाचारका आरोपहरु लाग्ने गरेको क्षेत्र औषधिको व्यवस्थापन, आपूर्ति र बीमा रहेको उनको भनाई छ । यी तीन वटा कुरालाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले जिकिर गरिन् ।

औषधि व्यवस्थापनमा गम्भिर समस्या देखिएकोले यसको खरिद, नियमन र गुणस्तरको कामका लागी त्रिवि शिक्षण अस्पतालका वरिष्ठ फार्मोकलजिष्ट र पूर्व महानिर्देशक लगायत विज्ञ टिमले काम गरिरहेको उनले जानकारी दिइन् ।

उक्त टिमको नेतृत्व मन्त्रालयका अतिरिक्त सचिवले गरिरहेको उनको भनाई छ । उनले यसको दिगो समाधान लागी काम भईरहेको पनि जानकारी दिइन् ।

उनले भनिन्, ‘यो सरकार जेन—जीको भावनाअनुरुप बनेको नागरिक सरकार हो । यसमा हामीले जेन—जी कै भावना अनुरुप हामीले भ्रष्टाचार निर्मुलको लागी प्रतिज्ञा गरेका छौँ । र हाम्रो प्रणाली सुदृढिकरण गर्नको लागी हामीले प्रतिज्ञा गरेका छौँ । मैले मन्त्रालयको जिम्मेवारी लिँदाखेरी हामीलाई समस्या भएको खासगरि भ्रष्टाचारका आरोपहरु लाग्ने गरेको क्षेत्र भनेको औषधिको व्यवस्थापन आपूर्ति र अलि बेथितिको पराकाष्ठामा रहेको भनेको बीमा । यो तीन वटा कुरालाई मैले आफ्नो प्राथमिकतामा राखेको छु । निरन्तर त्यसमा हाम्रो टिम रातभर त्यसलाई कसरी सुदृढिकरण गर्न सकिन्छ भनेर लागिरहेको छ । औषधि व्यवस्थापनको विषयमा औषधि व्यवस्था विभाग र त्यहाँ भएको मेडिकल ल्याब्रोरटरी ती दुवैको कार्य क्षेत्र र कार्यप्रणाली दुवैमा अलिकति गम्भिर खालका समस्या छन्, जसले गर्दा औषधिको खरिददेखि लिएर यसको नियमनका कुराहरु, गुणस्तरका कुराहरु,मूल्यका कुराहरु सबैमा गम्भिर असर परिरहेको हुनाले मैले त्रिवि शिक्षण अस्पतालका बरिष्ठ फार्मोकलजिष्ट, पूर्व महानिर्देशकहरु लगायत विज्ञहरुको टिम बनाएर हाम्रो अतिरिक्त सचिवज्युको नेतृत्वमा यो कार्यक्रमलाई अझ नजिकबाट राम्रोसंग हेरेर यसको दिगो समाधान आगामी दिनहरुमा फेरि औषधीको गुणस्तर, प्रणाली र त्यसको अनुगमन आदिका बारेमा कुनै गुनासो गर्ने ठाउँ नरहोस् भनेर त्यो प्रकारको पूर्वतयारी गर्नलाई हामी लागीरहेका छौँ ।’

उनले औषधि आपूर्तिमा मन्त्रालयका १४ जना कर्मचारी निलम्वनमा रहेको जानकारी दिइन् ।

त्यसले कर्मचारीको मनोबल कमजोर भएको उल्लेख गर्दै उनले ऐन नियममा भएको कमजोरीलाई सुधार गरेर औषधि आपूर्तिलाई सहज बनाउने बताइन् ।  बीमालाई सुधार गर्न गहन छलफल गर्ने समेत उनले जिकिर गरिन् ।

प्रकाशित मिति २०८२ मंसिर ११ गते बुधबार ०५:४०
हजुरको प्रतिक्रिया