२०८३ साउन २१ गते बिहीबार

पोखराको वसुन्धरा पार्कमा सारङ्गीको प्रतिमा नबन्ने, वैकल्पिक स्थान खोजिने

पोखराको वसुन्धरा पार्कमा सारङ्गीको प्रतिमा नबन्ने, वैकल्पिक स्थान खोजिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ३० गते सोमबार ०५:०९

पोखरा । पोखरा महानगरपालिकाले ६७ औँ स्थापना दिवसको अवसरमा निर्माण गर्ने तयारी गरेको २५ मिटर अग्लो सारङ्गीको प्रतिमा वसुन्धरा पार्कमा नबन्ने भएको छ। स्थानीयवासीको सुझाव र छलफलपछि महानगरले उक्त निर्णय लिएको हो। मंगलबार वसुन्धरा...

पोखरा ।

पोखरा महानगरपालिकाले ६७ औँ स्थापना दिवसको अवसरमा निर्माण गर्ने तयारी गरेको २५ मिटर अग्लो सारङ्गीको प्रतिमा वसुन्धरा पार्कमा नबन्ने भएको छ। स्थानीयवासीको सुझाव र छलफलपछि महानगरले उक्त निर्णय लिएको हो।

मंगलबार वसुन्धरा पार्कमै प्रतिमाको शिलान्यास गर्ने तयारी रहे पनि मेयर धनराज आचार्यले स्थानीयसँग प्रत्यक्ष छलफल गरेपछि यक्त ठाउँमा बनाउने योजना स्थगित गरिएको हो। छलफलका क्रममा केही स्थानीयले वसुन्धरा पार्कमा टुक्रे योजना उपयुक्त नहुने बताएका थिए।

मेयर आचार्यले वसुन्धरा पार्क अधिग्रहण गरिएको उद्देश्यअनुसार नै विकास गरिने स्पष्ट पार्दै सारङ्गीको प्रतिमा पोखराकै अर्को उपयुक्त स्थानमा निर्माण गरिने जानकारी दिए। “सारङ्गी पोखरालाई चिनाउने सांस्कृतिक सिम्बोल हो। स्थानीयको चाहना भए यहाँ नै बनाउँछौं, नभए अन्यत्र निर्माण गर्छौं,” उनले भने। तीन वर्षअघि पोखराको पहिचान झल्काउने सिम्बोल चयनका लागि माग गर्दा विभिन्न प्रस्तावमध्येबाट सारङ्गी छनोट गरिएको मेयर आचार्यको भनाइ थियो।

छलफलमा अधिवक्ता भगवती पहारीले वसुन्धरा पार्कको विकास गर्दा स्थानीयको सहभागितामा विस्तृत परियोजना तयार गर्नुपर्ने सुझाव दिइन्। स्थानीय बलराम पहारीले विगत ४० वर्षदेखि झाडी मात्र रहेको क्षेत्रलाई व्यवस्थित पार्कका रूपमा विकास गर्न ढिलाइ गर्न नहुने बताए।

मेयर आचार्यले पार्क निर्माणमा स्थानीय सहभागितासहित परियोजना तयार गरिने तर विरोध भए काम अगाडि बढ्न नसक्ने स्पष्ट पारे। उनले एसियाली विकास बैंक (एडीबी)को करिब ७ अर्ब रुपैयाँ अनुदानमा पाँचासे जाने बाटोदेखि विभिन्न पार्क निर्माणका योजना अघि बढिरहेको जानकारी पनि दिए।

यसैबीच वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले वडामा पर्याप्त आफ्नै जग्गा नहुँदा वडा भवन निर्माणमा समस्या आएको बताए। सार्वजनिक जग्गामा भवन निर्माण प्रस्ताव गर्दा केही व्यक्तिको विरोधका भवन बन्न नसकेको बताए ।

प्रकाशित मिति २०८२ मंसिर ३० गते सोमबार ०५:०९
हजुरको प्रतिक्रिया