एजेन्सी\सिन्ह्वा ।
मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकले आफ्नो बाँकी कैद अवधि घरमा नजरबन्दमा बिताउने प्रयास असफल भएको छ ।
क्वालालम्पुर हाई कोर्टले सोमबार उनको यो आवेदन खारेज गर्दै कैद काजाङ जेलमै काट्नुपर्ने फैसला सुनाएको हो ।
हाई कोर्टकी न्यायाधीश एलिस लोक यी चिङले नजिबले पेस गरेका अतिरिक्त प्रमाणहरू अवैध भएको ठहर गरिन् ।
पूर्वराजाले जारी गरेको भनिएको एडेण्डम आदेश संवैधानिक प्रक्रियाअनुसार नभएको र पार्डन्स बोर्डको बैठकमा छलफल नभएकोले वैध नहुने उनले बताइन् ।
मलेसियाली कानूनमा घरमा नजरबन्दको प्रावधान नभएको पनि अदालतले उल्लेख गरेको छ ।
७२ वर्षीय नजिबले यो फैसलाविरुद्ध अपील गर्ने आफ्ना वकिल मुहम्मद शाफी अब्दुल्लाहले जानकारी दिए ।
नजिबलाई सन् २०२० मा राज्यकोष १ एमडीबीको सहायक कम्पनी एसआरसी इन्टरनेसनलबाट ४२ मिलियन रिंगिट दुरुपयोग गरेको अभियोगमा १२ वर्ष कैद र २१० मिलियन रिंगिट जरिवानाको सजाय सुनाइएको थियो ।
पछि पार्डन्स बोर्डले सजायलाई ६ वर्ष कैद र ५० मिलियन रिंगिट जरिवानामा घटाएको थियो । उनी सन् २०२२ देखि काजाङ जेलमा कैद भुक्तान गरिरहेका छन् ।
नजिबले गत वर्ष पार्डन्स बोर्डको निर्णयमा पूर्वराजाले घरमा नजरबन्दको अतिरिक्त आदेश जारी गरेको दाबी गर्दै न्यायिक पुनरावलोकनको माग गरेका थिए ।
तर अदालतले यो दाबी खारेज गरेको हो । यो फैसला १ एमडीबी घोटालासँग जोडिएको नजिबको अर्को मुद्दाको फैसला आउनु चार दिनअघि आएको हो ।
उक्त मुद्दामा उनलाई थप अभियोग लाग्न सक्ने सम्भावना छ ।
प्रकाशित मिति २०८२ पुस ८ गते मंगलबार ११:५२




