पोखरा ।
कास्कीमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुला गरिएको छ । निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समितिले एकीकृत सूचना जारी गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत गरी २ हजार ३ सय ३ जना निर्वाचन प्रहरी भर्ना गरिने जनाएको छ।
सूचना अनुसार दरखास्त दिने मिति पौष २५ गतेदेखि माघ १ गतेसम्म तोकिएको छ। आवेदन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म, सार्वजनिक बिदाको दिन समेत, जिल्ला प्रहरी कार्यालय गैह्रापाटन कास्की र सशस्त्र प्रहरी बल २४ नम्बर कालिका गण, मालेपाटन पोखरामा बुझाउन सकिने छ ।
निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुक नेपाली नागरिकको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। साधारण लेखपढ गर्न जान्ने, शारीरिक तथा मानसिक रूपमा स्वस्थ, कुनै राजनीतिक दलको सदस्य नरहेको तथा आपराधिक अभियोगमा सजाय नपाएको हुनुपर्ने सर्त राखिएको छ।
यसअघि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त व्यक्ति तथा अघिल्ला निर्वाचनमा म्यादी प्रहरीको रूपमा काम गरेका व्यक्तिलाई प्राथमिकता दिइनेछ।
छनौट प्रक्रिया माघ ५ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन हुने र अन्तिम नतिजा माघ १२ गते सार्वजनिक गरिनेछ। छनौट भएकालाई ४० दिनका लागि नियुक्ति दिइनेछ ।
निर्वाचन प्रहरीले प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसा का दरले तलबसहित अन्य सेवा सुविधा प्राप्त गर्नेछन् ।
प्रकाशित मिति २०८२ पुस २५ गते शुक्रबार ०३:५३




