नेकपा एमालेले संसदमा जारी अवरोध हटाउन प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसँग छुट्टै वार्ता गर्नुपर्ने बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार अपरान्हका लागि बोलाएको सर्वदलीय बैठकमा एमालेले सहभागिता नजनाउने बताइसकेको छ । नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद गतिरोध खोल्न चाहेको भए प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसँग छुट्टै वार्ता गर्नुपर्ने बताएका हुन् ।
‘संसदको गतिरोध हटाउन चाहेको हो भने प्रधानमन्त्रीले हामीहरूसँग छुट्टै वार्ता गर्नुपर्यो नि, भोजमा बोलाएजसरी बोलाएर हामी किन सहभागी हुने ?,’ गृहजिल्ला इलाममा रहेका नेम्वाङले लोकान्तरसँग भने । एमालेले यसअघि पनि प्रधानमन्त्री देउवा र सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको थियो । पार्टीले कारवाही सिफारिस गरेका माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्ने पत्र कार्यान्वयन नगरेको भन्दै एमालेले भदौ २३ देखि संसदको बैठक अवरोध गर्न शुरू गरेको थियो ।
संसदको नवौँ अधिवेशनका सबै बैठकमा नाराबाजी गरेको एमालेले मंसिर २८ गते शुरू हिउँदे अधिवेशनको पहिलो दिन पनि संसदमा नाराबाजी गरेको थियो । एमालेको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक पुस ६ गते सम्मका लागि स्थगित भएको छ । ६ गतेको बैठक सुचारु गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् । सर्वदलीय बैठकमा अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयमा समेत छलफल हुने स्रोतले बतायो ।
प्रकाशित मिति २०७८ पुस ४ गते आइतबार ०१:३८




