पोखरा ।
माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ ।
पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भिजिट तथा साक्षात्कार कार्यक्रममा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल र सृष्टी श्रेष्ठ सहभागी भएका हुन् ।
साक्षात्कारका क्रममा अधिकांश दर्शकले सिनेमाको कथावस्तु मन परेको प्रतिक्रिया दिएका थिए । समय सान्दर्भिक विषयवस्तु, पारिवारिक कथा र सामाजिक सन्देशले आफूहरूलाई छोएको दर्शकको भनाइ थियो।
हल भिजिटपछि कलाकारहरूसँग फोटो खिच्दै प्रतिक्रिया दिँदा दर्शकहरू उत्साहित र खुशी देखिन्थे । यसै अवसरमा चलचित्र पत्रकार संघ नेपाल, कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अभिनेता सौगात मल्लले ‘भाइरल गोर्खे’ बाट राम्रो प्रतिक्रिया पाइरहेको बताए ।
सौगातले सिनेमाको छायांकन लमजुङको भुजुङ गाउँमा गरिएको जानकारी दिँदै गोरखा क्षेत्रका विभिन्न सुन्दर भूगोललाई पनि सिनेमामा समेटिएको बताए । ग्रामीण परिवेश र आधुनिक प्रवृत्तिको संयोजनले दर्शकलाई फरक अनुभूति दिएको उनको विश्वास छ ।
अभिनेत्री सृष्टी श्रेष्ठ पनि ‘भाइरल गोर्खे’ बाट सन्तुष्ट देखिइन्। सिनेमामा आफ्नो अभिनयलाई दर्शकले रुचाएको प्रतिक्रिया पाउँदा खुशी लागेको बताउँदै उनले कथावस्तु समय सान्दर्भिक भएकाले हलमा दर्शकको आकर्षण क्रमशः अझै बढ्दै जाने विश्वास व्यक्त गरिन् ।
निगम श्रेष्ठको कथा तथा निर्देशनमा बनेको ‘भाइरल गोर्खे’ मा सौगात मल्ल, सृष्टी श्रेष्ठ, रिसी धमला, बुद्धी तामाङ, लक्ष्मी गिरीलगायत कलाकारहरूको अभिनय रहेको छ ।
समय सान्दर्भिक विषयवस्तु र सामाजिक सन्देश बोकेको यो सिनेमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमको दाबी छ ।
प्रकाशित मिति २०८२ माघ ५ गते आइतबार ०७:३३




